झापा, कात्तिक । हिजो मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/11/jajarkot-bhukampa-3-04112023025334-1000x0-1.jpg)
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो।
ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गाउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् । त्यस्तै अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डीएसपी रोकाले जानकारी दिए ।
घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/11/jajarkot-bhukampa-4-04112023025343-1000x0-1.jpg)
त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।
रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/11/Earthquak-jajarkot-52_l46ncmJMJ9_Fj24Ss9CPn-1024x521.jpg)
तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।
भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ । यसकारण पनि उद्धारमा केही ढिलाइ भएको बताउँदै रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जसोतसो घाइतेहरूको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको जानकारी गराए ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/11/Earthquak-jajarkot25_nxMzbk8I8Q-1024x533.jpg)
![](https://pratidindaily.com/wp-content/uploads/2023/11/Earthquak-jajarkot-5_mlh3wL2cOp-1024x532.jpg)
![](https://pratidindaily.com/wp-content/uploads/2023/11/thumb-4.jpg)