झापा, कात्तिक १९ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् सार्क चेम्बरका उपाध्यक्षमा चण्डीराज ढकालले आर्थिक रुपमा मुलुक संकटमा फस्दै गएको बताएका छन् ।

आर्थिक संकट उत्पन्न हुँदा व्यवसायी सबैभन्दा ठूलो मारमा परेको उल्लेख गर्दै उनले राज्यले बेलैमा सोच्नुपर्नेमा जोड दिए । शनिबार बिर्तामोड उद्योग वाणिज्य संघको छैठौं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै ढकालले मुलुकको आर्थिक वृद्धिका लागि निजी क्षेत्रको ठूलो योगदान रहेको धारणा व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका ढकालले राज्यले निजी क्षेत्रको संरक्षणमा ध्यान दिँदै वर्तमान आर्थिक संकटको निकासका लागि पहल गर्नुपर्ने बताए । कतिपय व्यवसायीहरु बैंकको चर्को व्याजदरका कारण पलायन हुनुपर्ने अवस्था आउन दुःखद् भएको उनले उल्लेख गरे ।

बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायीको हितमा काम गरेको भन्दै व्यवसायीको पक्षमा बोल्नु वाणिज्य संघको धर्म भएको बताए । कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरले आर्थिक रुपमा दर्विलो भए मात्रै देशको अर्थतन्त्र मजबुत हुने उल्लेख गरिन् । बिर्तामोड उद्योग वाणिज्य संघका हरेक कार्यक्रममा सहभागी भएको भन्दै उनले वाणिज्य संघले व्यवसायीको हितमा काम गर्नुपर्ने बताइन्् ।

उनले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितहरुको सहयोगका लागि उद्योगी व्यवसायीहरुलाई आव्हान गरिन् । उपसभामुख रानामगरले उद्योगी व्यवसायीसहित हरेक व्यक्तिलाई आफ्नो गाँस काटेर भूकम्पपीडितहरुलाई सहयोग गर्न आव्हान गरेकी थिइन् । यस्तो आपत्ति जुनसुकै क्षेत्रमा आउनसक्ने भन्दै उनले यो संवेदनशील अवस्थामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताले सहयोगको भावना देखाउनुपर्ने बताइन् ।

जलवायु परिवर्तनका कारण नेपाल र नेपालीले यस्ता प्राकृतिक विपद् भोग्नु परिरहेको उनको भनाइ छ । साधारणसभामा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल, झापा उद्योग संघका निवर्तमान अध्यक्ष यमबहादुर श्रेष्ठ, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वेदप्रकाश अग्रवाललगायतले शुभकामना मन्तव्य राखेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन महासचिव अर्जुन मैनालीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्