झापा, कात्तिक १९ । आइतवार दिउँसो बिर्तामोड नगरपालिकाको आयोजनामा सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम शुरु हुनै लाग्दा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला फोनमा जंगिए ।

चर्को स्वरमा उनले चर्काचर्की कुराकानी गरिरहेको सुनेर कार्यक्रमका सहभागीहरु छक्क परे ।अरु कोहीसंग नभएर उनी नेकपा माओवादी केन्द्र बिर्तामोडका नगर अध्यक्ष मोहन सुब्बासंग त्यसरी जंगिदै थिए । मोबाइल फोनमा भाटा हान्नुपर्ने , हेलो सरकार र जिल्ला प्रशासन कार्यालयमा उजुरी हाल्नेसम्मका कुराहरु पनि सुनियो । उनी जंगिनुपर्ने कारण रहेछ –बिर्तामोड ८ की दीपा पौडेलसंग लिएको ४ लाख रकम सुब्बाले तिर्न नमान्नु । निकै वर्ष अगाडि सुब्बाले लिएको ऋण तिर्न नखोज्दा विवाद बढेको हो ।

त्यो विवाद बिर्तामोड नगरपालिकामा आएको थियो । त्यस विवादउपर गत माघ २९ गते न्यायिक समितिका संयोजकसमेत रहेका उपप्रमुख संग्रौलाको इजलासमा छलफल भएको थियो । छलफलमा साउन मसान्तसम्म सापटी (ऋण) ४ लाख फिर्ता गर्ने सहमति बनेको थियो । त्यसलाई लिखित रुपमा सुब्बाले सहमति गरेका थिएनन् ।माओवादीका नगर अध्यक्ष र गत स्थानीय तहको निर्वाचनमा बिर्तामोड– ९ का वडाध्यक्षका उम्मेदवार रहेका सुब्बाले बोलेको कुरा पूरा गर्ने विश्वासका साथ आफूहरु रहेकोमा सो म्याद गुज्रिदासमेत उनले ऋण नतिरेको र उल्टै निहुँ खोज्ने कुरा गरेको एमालेका बिर्तामोड सचिव शेखर कँडेलले बताए । सोही विषयमा उपप्रमुख संग्रौला र सुब्बाबीच चर्काचर्की परेको हो । आफ्नो इजलासमा भएको सहमति कार्यान्वयन नगर्ने अनि थर्काउन खोजेपछि चर्काचर्की परेको उपप्रमुख संग्रौलाले बताए ।

यस विषयमा बुझ्न खोज्दा माओवादी नगर अध्यक्ष सुब्बाले दवावमा कागज गराएकाले आफूले सही नगरेको बताए । उनले ऋण लिएको कुनै पनि प्रमाण नरहेको बताउँदै २०६४ सालमा दीपा पौडेलका श्रीमान स्व. धनबहादुर पौडेलको जग्गा बेचिदिएवापत् ऋण नभएर चिया खर्च आफूलाई दिएको दावी गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्