एजेन्सी । विराट कोहलीको कीर्तिमान शतक तथा रवीन्द्र जडेजाको पाँच विकेट प्रदर्शनको मद्दतले भारत विश्वकप क्रिकेट–२०२३ मा दक्षिण अफ्रिकालाई आइतबार २ सय ४३ रनले पराजित गरेको छ । यो जितपछि भारतको १६ अंक भएको छ र लिग चरणमा शीर्ष स्थानमा रहने निश्चित भएको छ ।
शीर्ष स्थानका दुई प्रत्यासीबीच इडेन गार्डेनमा भएको खेलमा भारतले सजिलै विजयी रहेको हो । दुवै टिम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।
दक्षिण अफ्रिका भने प्रतियोगिताको दोस्रो हारपछि १२ अंकमा सीमित रह्यो । जितका लागि ३ सय २७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले २१.५ ओभरमा सबै विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो । यसअघि उत्कृष्ट ब्याटिङमा गरेको दक्षिण अफ्रिकाले यस्तै खेल दोहो¥याउन सकेन ।
उसलाई सस्तोमा समेट्न जडेजाले मुख्य भूमिका खेले । उनले नौ ओभरमा ३३ रन दिएर पाँच विकेट लिए । यस्तै मोहम्मद सामी र कुलदीप यादवले दुई–दुई विकेट हात पारे । दक्षिण अफ्रिकी ब्याटरमध्ये मार्को यान्सनले १४ र रस्सी भान डेर डुसेनले १३ रन बनाए । त्यस अगाडि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको भारतले पाँच विकेट गुमाएर ३ सय २६ रन बनाएको थियो ।
त्यसमा कोहलीले १० चौकाको मद्दतले १ सय १ रन बनाए । आफ्नो ३५ औं जन्मदिन मनाइरहेका कोहलीले ४९ औं वान डे शतक पूरा गरे र यसक्रममा सचिन तेन्दुलकरको बराबरी खेले । भारतका लागि श्रेयस अयरले ७७ रनको योगदान दिए । कप्तान रोहित शर्माले २४ बलमा ४० रन बनाएर टिमलाई आक्रामक सुरुवात दिलाएका थिए ।