झापा,कात्तिक २० । कमल –६ स्थायी घर भई पाँचथरमा कार्यरत ३६ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराईको पनि संलग्नता देखिएको बताइएपनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।

एउटै कसूरमा कार्कीकी श्रीमती चाहना पोख्रेल र ससुरा पुण्यप्रसाद पोख्रेललाई प्रहरीले करिव एक सातादेखि प्रहरी नियन्त्रणमा छन् । वडाध्यक्ष भट्टराई भने यतिबेलासम्म कानूनी कार्वाहीभन्दा बाहिर छन् । उनीमाथि पनि अनुसन्धान थालिने बताएको प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसकेको आफन्तको गुनासो हो । नेकपा एमालेबाट दुई पटक कमल गाउँपालिकाको वडाध्यक्षमा निर्वाचित भट्टराईको राम्रो राजनीतिक पहुँच रहेको बताइन्छ ।पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उनी नातेदार हुन् ।

त्यसो त प्रहरीले उनीमाथि किटानी जाहेरी लिन अस्वीकार गरेको थियो । मृतकका मामा खेमबहादुर बुढाथोकी इलाका प्रहरी कार्यालय दमक जाँदा वडाध्यक्षको नाम हटाउन लगाएर कार्कीकी श्रीमती चाहना र ससुरा पुण्यप्रसादको नाममा मात्र प्रहरीले किटानी जाहेरी लिएको थियो । आफ्नो भतिजाको मृत्युमा वडाध्यक्षको पनि हात हुँदाहुँदै प्रहरीले राजनीतिक दबाबमा पक्राउ गर्न नसकेको मृतक कार्कीका मामा बुढाथोकीले दावी गरे । घटनामा वडाध्यक्ष भट्टराईको समेत प्रत्यक्ष संलग्नता देखिएकाले जाहेरीको पेटबोलीमा भने उनको नाम उल्लेख छ । जाहेरीमा वडाध्यक्ष भट्टराईको नाम उल्लेख भएकाले उनीमाथि पनि अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताएका थिए । उनी फरार रहेकाले पक्राउ गर्न नसकिएको प्रहरीले दावी गरेको छ ।

गत ६ कात्तिक गते अर्थात महानवमीको दिन मृतक कार्की र उनकी श्रीमतीबीच घरायसी विवाद भइरहेको बेला वडाध्यक्ष भट्टराई पुगेका थिए । सो क्रममा भट्टराईले कार्कीमाथि हातपातसमेत गरेका थिए । आफूमाथि वडाध्यक्ष भट्टराईले गरेको कुटपिटको घटनालाई लिएर मृतक कार्की दशैंको टिकाको दिन अर्थात कात्तिक ७ गते किटानी जाहेरीसहित इलाका प्रहरी कार्यालय दमकमा पुगेका थिए ।

तर, त्यस जाहेरीलाई प्रहरीले सामान्य रुपमा लिएर आवश्यक कारवाही अघि नबढाइदिँदा कार्की न्यायको लागि हारगुहार माग्दै हिंडेका थिए । उनले पारिवारिक मामिलामा वडाध्यक्ष भट्टराईले एकपक्षीय दबाब र हस्तक्षेप दिएको गुनासो गरेका थिए । त्यसक्रममा कात्तिक १२ गते साँझ कार्कीले घरमै झुन्डिएर आत्महत्या गरेका थिए । कार्कीलाई श्रीमती , ससुरा र वडाध्यक्ष भट्टराईले आत्महत्या गर्न लगाएको आफन्तले आरोप लगाएका छन् ।

आफन्तहरुले घटनामा संलग्न सबैलाई कार्वाही हुनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय दमकमा प्रदर्शन गर्नुका साथै पूर्व पश्चिम राजमार्गमा चक्काजामसमेत गरेका थिए । उनीहरुले कमल गाउँपालिका ६ नं वडा कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । वडाध्यक्ष भट्टराई फरार भएपछि अहिले कार्यबाहक वडाध्यक्षको कार्यभार वडा सदस्य टेकबहादुर खड्काले सम्हालिरहेका छन् ।

कार्की मृत्यु प्रकरणमा संलग्नलाई कार्वाहीका लागि कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई , दमक नगरपालिकाका नगर प्रमुख राम थापाले प्रहरीको ध्यानाकर्षण गराइसकेका छन् । मृतक कार्की दमक क्याम्पसमा नेपाल विद्यार्थी संघका पूर्व सचिव हुन् । जिल्ला बन कार्यालय पाँचथरमा कार्यरत कार्की तीन वर्षदेखि ससुरालीछेउमा घर बनाएर बस्दै आएका थिए । उनकी एक नाबालिका छोरी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्