झापा , कात्तिक २० । कोशी प्रदेश सभाको बैठक बस्दैछ।

बैठक आज दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामतीसम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ। त्यसअघि कार्यव्यवस्था समितिको बैठक ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए।

गत कात्तिक १ गते स्थगन गरिएको सो बैठक आजका लागि बोलाइएको हो। एमालेको समर्थनमा मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमाले रुष्ट छ। एमालेले समर्थन फिर्ता लिने वा कायमै राख्नेबारे कोशी संसदीय दलको बैठकले टुंगो लगाउने एमाले कोशी प्रदेश सांसद मिना श्रेष्ठले जानकारी दिइन्। सत्ता गठबन्धनका दुई मन्त्री बनेसँगै एमालेबाट मन्त्री बनेका रामबहादुर मगरले राजीनामा दिइसकेका छन्। उसले आफूहरू गठनन्धनमा नरहेको भन्दै समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ।

उता सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिएर सत्ता जोगाउने कसरतमा लागेको छ। कोशी प्रदेशसभामा सभामुखको पद रिक्त छ । उक्त पद राप्रपालाई दिएर बहुमत (४७) जुनसुकै बेला कायम राख्ने सत्ता गठबन्धनको प्रयास छ । नेपाली काँग्रेसका एक नेताका अनुसार मुख्यमन्त्री कार्कीले सभामुख राप्रपालाई दिने विषयको टुंगो लगाइसकेका छन् । यसअघि मुख्यमन्त्रीको उम्मेद्वार इन्द्रबहादुर आङ्बोलाई बनाउने निर्णय गर्नुअघि पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग गठबन्धनका शीर्ष नेताले छलफल गरेका थिए ।

‘प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच सभामुख राप्रपाले लिने सहमति भइसकेको छ,’ गठबन्धनका एक नेताले भने । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पनि प्रदेशको सभामुख लिन सकारात्मक रहेको संकेत गरे । ‘संसदीय मर्यादा र अभ्यास भएका देशमा विपक्षीकै सभामुख बनाउने अभ्यास पनि छ । त्यस्तो चलन आएको अवस्थामा हामी सल्लाह गर्छौं र अगाडि बढ्छौं,’ सिटौलाले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्