बिर्तामोड ,कात्तिक २० । लेनदेनको आरोपमा मुछिएका नेकपा माओवादी केन्द्रका बिर्तामोड अध्यक्ष मोहन सुब्बाको पक्षमा पार्टीले विज्ञप्ति जारी गरेको छ ।

नगर उपाध्यक्ष जनबहादुर (जेबी) जबेगु र सचिव गणेश कालिकोटेले विज्ञप्ति जारी गरेका हुन् । उनीहरुले सुब्बामाथि लगाइएको आरोप मिथ्या भएको दावी गरेका छन् । उनीहरुले बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक नगेन्द्रप्रसाद संग्रौलालाई बिनाप्रमाण जथाभावी नबोल्नसमेत चेतावनीसमेत दिएका छन् ।

सोह्र बर्षअघि भएको जग्गाको बिषयलाई लिएर संग्रौलाले कपोकल्पित र भ्रामक अभिव्यक्ति दिंदै पार्टी र नेतृत्वबिरुद्ध योजनाबद्ध ढंगमा लागेको भन्दै माओवादीको बिर्तामोड नगर कमिटीले विज्ञप्तिमार्फत आरोप पुष्टि गर्न चुनौतीसमेत दिएको छ । हिजो दिउँसो बिर्तामोड नगरपालिकाको आयोजनामा सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम शुरु हुनै लाग्दा उपप्रमुख संग्रौला र माओवादी नगर अध्यक्ष सुब्बाबीच फोनमा चर्काचर्की परेको थियो ।

बिर्तामोड ८ की दीपा पौडेलसंग लिएको ४ लाख ऋण सुब्बाले तिर्न नमान्दा विवाद भएको उपप्रमुख संग्रौलाले बताएका छन् । त्यो विवाद बिर्तामोड नगरपालिकामा आएको थियो । त्यस विवादउपर गत माघ २९ गते न्यायिक समितिका संयोजकसमेत रहेका उपप्रमुख संग्रौलाको इजलासमा छलफल भएको थियो । छलफलमा साउन मसान्तसम्म सापटी (ऋण) ४ लाख फिर्ता गर्ने सहमति बनेको थियो । त्यसलाई लिखित रुपमा सुब्बाले सहमति गरेका थिएनन् ।माओवादीका नगर अध्यक्ष र गत स्थानीय तहको निर्वाचनमा बिर्तामोड– ९ का वडाध्यक्षका उम्मेदवार रहेका सुब्बाले बोलेको कुरा पूरा गर्ने विश्वासका साथ आफूहरु रहेकोमा सो म्याद गुज्रिदासमेत उनले ऋण नतिरेको र उल्टै निहुँ खोज्ने कुरा गरेको एमालेका बिर्तामोड सचिव शेखर कँडेलले बताए ।

२०६४ सालमा भएको त्यस लेनदेन नमिलेपछि सम्बन्धित दीपा पौडेलले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएकी छन् । प्रहरीले छलफलका लागि भोलि बोलाएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्