झापा, कात्तिक २० । घरभित्रको हिंसाबाट महिलाहरु अझै मुक्त हुन नसकेको भन्दै अगुवा महिलाहरुले चिन्ता गरेका छन् । एबिसी नेपाल झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न अन्तरक्रियामा सहभागी महिलाहरुले घरभित्रको हिंसा अझै पनि खुलेर बाहिर आउन नसक्दा समस्या यथावत रहेको बताए ।

कार्यक्रममा बोल्दै एबिसी नेपालकी केन्द्रीय अध्यक्ष मिना खत्री कार्कीले घरभित्र हुने हिंसालाई उजागर गर्नुपर्ने बताइन् । उनले भनिन्–‘समस्या छ, तर बाहिर आउन÷ल्याउन सक्दैनन् र यो सजिलो पनि छैन । तैपनि त्यस्ता हिंसालाई पनि सहज रुपमा बाहिर ल्याउन सक्ने वातावरण बनाउनु पर्छ ।’

संस्थाले सञ्चालन गर्दै आएका गतिविधि र भावी योजनाबारे जानकारी दिंदै अध्यक्ष कार्कीले संस्थाको दीर्घकालीन व्यवस्थापनका लागि योजना बनाइरहेको जानकारी दिइन् । साथै जिल्ला शाखालाई सीमा क्षेत्र, कारागारलगायतका विभिन्न चारवटा क्षेत्रमा अल्पकालीन काम गर्न सकिने बताउँदै अल्पकालीन कार्यक्रमको प्रस्ताव ल्याउन सुझाइन् ।

सामाजिक सेवामा इतिहास बनाएको संस्थामा जोडिन पाउँदा गर्व गर्नुपर्नेमा जोड दिंदै एबिसीकी महासचिव चन्द्रा विष्टले काम गर्न आवश्यक बजेटबारे स्थानीय सहकारसंग पनि समन्वय गर्न सकिने विकल्प औल्याइन् । कार्यक्रममा संस्थाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले काम गर्ने सिलसिलामा संस्थाले जिल्लामा भोग्नु परेको समस्याबारे अवगत गराएकी थिइन् ।

संस्था स्थापना भएदेखि हालसम्म संस्थाले गरेका गतिविधि समेटिएको प्रतिवेदन एबिसी झापाकी सहसचिव उमा शिवाकोटीले प्रस्तुत गरिन् । प्रस्तुत प्रतिवेदनअनुसार एबिसी झापाले हिंसाविरुद्ध समाजमा भएका घटनाका बारेमा आवाज उठाउनेदेखि बन्दी गृहका महिलालाई लक्षित गरी सीपमुलक ब्याग बनाउने कार्यक्रम सञ्चालन गरेको थियो । त्यस्तै सामुदायिक विद्यालयका विद्यार्थीलक्षित लागूऔषधविरुद्ध सचेतनामुलक कार्यक्रम, जोखिमयुक्त समुदायलाई लक्षित गरी कानूनी परामर्श तथा सचेतनामुलक कार्यक्रम, स्टिकर अभियान, जोखिममा परेका बालबालिकालाई उद्दार गरी सीप प्रदान गर्ने र बस्ने वातावरण बनाउने लगायतका काम गरेको उल्लेख छ ।

कार्यक्रममा केन्द्रका भावी कार्यक्रम र योजनाबारे सहभागीले जिज्ञासा राखेका थिए । उपाध्यक्ष रेखा अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देविका निरौला बस्नेतले गरेकी थिइन् ।कार्यक्रममा एबिसी नेपाल झापाकी कानूनी सल्लाहकार कमला आचार्य उप्रेती, एबिसी नेपाल कोशी प्रदेश कार्यालय लेखा फाँटकी इन्दिरा गौतम, इन्दिरा न्यौपाने, ज्योति रिजाल, सुष्मा पौडेल, उर्मिला खरेल, नम्रता रिजाल, डा. रोमी बुढाथोकीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्