विनोद सापकोटा,
शिवसताक्षी, कात्तिक २० । झापामा नेपाली कांग्रेस महासमिति सदस्य चयनमा जुटेको छ ।

साउन २ देखि ८ गतेको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार कांग्रेस महासमिति सदस्य चयनमा जुटेको हो । असोज मसान्तभित्र महासमिति सदस्यको निर्वाचन सक्नेगरी अघि बढेको कांग्रेसमा ४३ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेका छन् । बाँकी ३४ जिल्लामा पार्टी जिल्ला समितिको बैठक बसेर महासमिति सदस्य छनोट गर्न जिल्ला तहका नेता कार्यकर्ताहरू जुटेका हुन् ।

महाधिवेशन प्रतिनिधि जितेकाहरूबाट महासमिति सदस्यमा सर्वसम्मत छनोट गर्ने यदि सर्वसम्मत हुन नसके वडाबाटै छनोट भएर आएका क्षेत्रीय प्रतिनिधिहरूको मतदानबाट महासमिति सदस्य छनोट गर्नुपर्ने व्यवस्था कांग्रेसको विधानमा छ ।
झापाको निर्वाचन क्षेत्र नम्बर ४ बाट महासमितिमा ११ जना चयन हुनुपर्ने छ । तर ११ पदमा महाधिवेशन प्रतिनिधि जितेका २० जनाले इच्छा राखेको नेपाली कांग्रेसको निकट स्रोतले बताएको छ ।

खुला ५ कोटामा ९ जनाले उम्मेदवारी दिन सक्ने बुझिएको छ । पार्टीका झापा सभापति देउकुमार थेवे, शिवसताक्षी नगरका पूर्व सभापति पर्शुराम ढुंगाना, उत्तम चौलागाईं, किरण भट्टराई र एकराज उप्रेतीले महासमिति सदस्य पदमा उम्मेद्वारी दिने बुझिएको छ । ‘सहमतिमा महासमिति चयन हुने भएछ भने मेरो उम्मेदवारी नहुन सक्छ । तर, निर्वाचनबाटै सदस्य चयन गर्नुपर्ने परिस्थिति उब्जिए आफ्नो पनि उम्मेद्वारी हुने छ,’ नेपाली कांग्रेसका नेता पर्शुराम ढुंगानाले भने । स्रोतका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट सहमतिमा महासमिति सदस्य छनौट हुने सम्भावना न्यून छ ।
निर्वाचन नै हुने भएपछि सीताराम भट्टराई, उत्तम सुवेदी, भीम राजवंशी र भक्ति सिटौलाले पनि उम्मेदवारी दिन सक्ने बुझिएको छ ।

यस्तै खस आर्यनको एउटा कोटामा दुईजनाको उम्मेद्वारी पर्ने भएको छ । पूर्व सामान्य प्रशासन मन्त्री तथा पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीका स्वकीय सचिव खड्ग कार्कीले उम्मेद्वारी दिने बताए । पार्टीका हरेक गतिविधिमा सक्रिय भूमिकामा रहेका कार्की शिवसताक्षी, कन्काई, झापा गाउँपालिका, गौरीगंज वडा नम्बर १ र २ अनि गौरादह नगरपालिका वडा नम्बर ९ मा संघीय सरकारका कार्यक्रम र योजनाहरु ल्याउने भूमिकामा अग्रपंक्तिमा छन् । खस आर्यनको कोटाबाट चन्द्रमणि नेपालले पनि उम्मेद्वारी दिने बताइएको छ ।

यता आदिवासी जनजाति एउटा कोटामा तीन जनाले उम्मेदवारी दिने बताएका छन् । सामाजिक क्षेत्र तथा पछिल्लो समय पार्टीमा सक्रिय भूमिकामा देखिएका मचिन्द्र शेर्मा, कात्तिकलाल राजवंशी र सन्तोषकुमार मेन्याङ्बोले उम्मेद्वारी दिने बुझिएको छ । राजवंशी र मेन्याङ्बोले आफ्नो उम्मेदवारी हुने स्वतन्त्ररुपमा सार्वजनिक नगरेपनि उम्मेदवारी दिन सक्नेमा उनीहरूको पनि चर्चा छ ।

आदिवासी जनजातितर्फकै महिला कोटामा यो समाचार तयार पार्दासम्म एक जनाको मात्रै उम्मेदवारी पर्नसक्ने अनुमान छ । उक्त कोटामा सीता थेबेको मात्र उम्मेद्वारी पर्नसक्ने कांग्रेस वृत्तमा चर्चा छ ।
खस आर्यन महिला एक कोटामा दुईजना महिला नेतृले इच्छा राखेका छन् । मन्जु थपलिया र बबिता बस्नेतले उक्त कोटाबाट उम्मेदवारी दिन सक्ने छन् ।

यस्तै महिला खुला दुई पदमा धनमाया चिमरिया, लख्खी गणेश र देवीकुमारी दाहालले उम्मेदवार दिने इच्छा राखेका छन् ।
आगामी ४ वर्षे कार्यकालका लागि हुन लागेको महासमिति सदस्य पदको निर्वाचन २३ गते कनकाई नगरपालिकाको कुनै क्षेत्रमा हुने भएको छ । सहमति हुन नसके २२ गते मनोनयन दर्ता हुने र २३ गते निर्वाचन प्रक्रियाद्वारा नेपाली कांग्रेसको महासमिति सदस्य चयन हुनेछ ।

उम्मेदवारी दिन सक्नेमा कतिपय आकांक्षी गएको स्थानीय प्रदेश र संघीय संसदको निर्वाचनमा खुलेर असहयोग गर्ने पनि छन् । निर्वाचनका दिन पार्टी इतरका उम्मेदवारलाई मत दिने, राजनीतिक असहयोग गर्ने र अन्य दिन पार्टीका गतिविधिमा सक्रिय हुने नाटक गर्नेबाट पार्टीलाई जोगाउन नसकिएको एक नेताले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्