अर्जुनधारा, कात्तिक २१ । अर्जुनधारा– ८ बिजुली अफिस पूर्व टोलमा रहेको जलेश्वर कीर्तन मण्डलीले मंगलबार नियमित भजन कीर्तनमा दाता सम्मान गरेको छ ।

सोही टोलमा बस्ने कमल थापा मगरले २५ हजार रुपैयाँ बराबरको हार्मोनियम कीर्तन मण्डलीलाई उपलब्ध गराएका छन् । सो हार्मोनियम दाताकी श्रीमती सीता थापामगरले कीर्तन मण्डलीलाई हस्तान्तरण गरेकी थिइन् । कीर्तन मण्डलीले दाताका सम्पूर्ण परिवारलाई फूलमाला लगाई दोसल्ला ओढाएर सम्मान गरेको हो । सम्मानित सीता थापामगरले यो सम्मानले आफूहरुलाई टोल हकहितका निम्ति अझ सहयोग गर्ने हौसला मिलेको बताइन् ।

त्यसैगरी सोही कार्यक्रममा दाता हिरालाल अधिकारीले पनि मण्डलीलाई १ थान झ्याली झ्याम्टा उपलब्ध गराएका छन् । उनलाई पनि स्वागत सम्मान गरिएको थियो । सम्मान कार्यक्रमको अध्यक्षता कीर्तन मण्डलीकी अध्यक्ष तारा प्याकुरेलले गरेकी थिइन् भने स्वागत कीर्तन मण्डलीका ज्येष्ठ सदस्य रामप्रसाद ढकालले गरेका थिए ।

सम्मान कार्यक्रमको औचित्यका बारेमा टोलका कोषाध्यक्ष बिनोद चौहानले प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन टोलका सचिव रमेश नेपालले गरेका थिए ।सो टोल समितिले यसअघि पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । भबिष्यमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै आफ्नो टोललाई सभ्य र भब्य बनाउने टोल समितिका अध्यक्ष पुनम चौहानले बताए । आजको कीर्तन बिजुली अफिस पूर्व टोल रोड नम्बर ७ गोमा भण्डारीको निवासमा भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्