बिर्तामोड , कात्तिक २२ । झापाको निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको महासमिति सदस्य पदका लागि १८ जनाले मनोनयन दर्ता गरेका छन् ।

विभिन्न क्लस्टरबाट ११ जना चयन हुनुपर्नेमा त्यति जनाले उम्मेदवारी दिएका हुन् । खुल्लातर्फ पाँच जना छानिनुपर्नेमा ८ जनाले मनोनयन दर्ता गरेका छन् । सुधिरकुमार शिवाकोटी , उद्धव थापा , गोपालकुमार बस्नेत , छत्रबहादुर गिरी , जलकुमार गुरुङ , टीकाप्रसाद प्रसाई , दिपेन्द्र ढकाल र हस्तबहादुर परियारले खुल्लातर्फ उम्मेदवारी दिएका हुन् ।

त्यस्तै महिला खुल्लातर्फ २ जनाको कोटामा तीनजनाले उम्मेदवारी दिएका छन् । सीता पौडेल , चन्द्रकला भण्डारी र उमा शिवाकोटीले महिला खुल्लामा उम्मेदवारी दिएका हुन् । त्यस्तै एकजनाको खस आर्यको कोटामा अनुज खड्का र यज्ञप्रताप अधिकारीले उम्मेदवारी दिएका छन् । खस आर्य महिलामा भूमादेवी घिमिरे र रंजिता कार्की उम्मेदवार बनेका छन् । त्यसमा एकजनाको कोटा रहेको छ । त्यस्तै एकजनाको आदिवासी जनजाति खुल्लामा दीपक तामाङ र रमेशकुमार भुजेलले उम्मेदवारी दिएका छन् ।

यसैबीच आदिवासी महिलामा राधा सुब्बा निर्विरोध भएकी छन् । एकजनाको कोटामा उनको मात्र उम्मेदवारी परेको छ । मनोनयन दर्तापछि मतदान हुने भएको छ । मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । मतदानमा ५८८ जनाले भाग लिन पाउने भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्