इलाम, कात्तिक २२ । जिल्ला प्रशासन कार्यालय इलामले पनि गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न सुरु गरेको छ ।

प्रशासन कार्यालयले हाल अमेरिकामा बसोबास गर्दै आएका इलाम नगरपालिका– ६ निवासी बिजेन्द्र गुरुङलाई मंगलवार गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । गुरुङलाई प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नागरिकता प्रदान गरे । अन्य गैरआवासीय नेपालीहरूले पनि गैरआवासीय नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय इलाममा निवेदन दिएको गुरुङले बताए ।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ।

गैरआवासीय नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन्। तर, उनीहरूले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्