झापा, कात्तिक २२ । झापाको मेचीनगरमा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को ३१ औं साधारणसभा मंसिर १६ गते हुने भएको छ ।

(एनएमसी) ले बुधबार बिर्तामोड सेवाकेन्द्रमा बार्षिक प्रगति विवरण सार्वजनिक गर्दै सो कुरा जानकारी दिएको हो । मंसिर २ गतेदेखि इकाइगत साधारणसभा शुरु भई मंसिर १६ गते अन्तिम माइन्युट प्रमाणिकरण भेला हुने संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले जानकारी दिए । साथै उनले बचत तथा ऋण कारोबारसँगै संस्थाले डेरी , एनएमसी एग्रो फर्म, सहकारी पसल , चिया ब्यवसाय सञ्चालन गरिरहेको जानकारी दिए ।

संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले पछिल्लो समय देखिएको आर्थिक संकटका कारण संस्थालाई केहि असर पुगेको बताए । साथै उनले सहकारीको मूल्य र मान्यता बमोजिम सहकारी संस्था चल्नुपर्नेमा उल्लेख गरे । संस्थाको आर्थिक वर्ष २०७९÷०८० को असार मसान्तसम्म शेयर पुँजी १ अर्ब ४० करोड ५ लाख १६ हजार ६ सय रुपैयाँ रहेको छ । संस्थागत पुँजी ७६ करोड ९ लाख २७ हजार ६५९, कूल प्राथमिक पुँजी २ अर्ब १६ करोड १४ लाख ४६ हजार २५९ रहेको छ ।
संस्थाले सोही अवधिमा ९ अर्ब ४० करोड ७४ लाख १३ हजार २१८ रुपैयाँ बचत संकलन गरेको छ भने १० अर्ब ६३ करोड ३८ लाख २९ हजार १८ रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाले २७ करोड ५७ लाख ९९ हजार २६६ रुपैयाँ नाफा कमाएको छ ।

२०५० सालबाट २ लाख ५० हजारबाट सुरु गरेको एनएमसी सहकारी संस्थामा हाल १ लाख ५१ हजार ८ सय ३ सदस्य रहेका छन् । सहकारीका ५८ वटा सेवाकेन्द्र रहेको र सहकारीको कार्यक्षेत्र तीन जिल्ला झापा, इलाम र मोरङ रहेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । आगामी दिनमा खाद्य उद्योग संचालनका लागि प्रस्ताव अघि सारेको उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्