दमक ,कात्तिक २४ । झापा– ५ मा नेपाली कांग्रेस महासमिति सदस्यको निर्वाचनमा उम्मेदवार बनेका तीनै जना जनप्रतिनिधिहरु निर्वाचित भएका छन् ।

यसरी निर्वाचित हुनेमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई , गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाई रहेका छन् ।

पाँच जना खुल्ला सदस्यमा उम्मेदवार बनेका कमलका राईले गएको महाधिबेशनको निर्वाचनमा सर्वाधिक मत ल्याएर जित निकालेको रेकर्डलाई महासमितिको निर्वाचनमा आफनो उचाई कायम गर्न सफल भएका छन् । खुल्ला सदस्यका १० जना उम्मेदवारमध्ये राई ३५४ मत ल्याएर विजयी बने । पहिलोपटक महासमिति सदस्य बनेका उनी पार्टीका कोशी प्रदेश समितिका सदस्य तथा कमल गाउँपालिकाका अध्यक्षसमेत हुन् ।

त्यसैगरी, दमकका पुराना नेता शुरेस सुब्बा लगातार चौथो पटक महासमितिमा विजयी बने । उनले ३३८ मत ल्याए । यस्तै, गौरादहका अनिलकृष्ण प्रसाईले (३२८ ) , मेदनी सिटौला (३३८ ) र रोहितकुमार साह ( ३२६ )मत प्राप्त गरी निर्वाचित भए ।
पराजित हुन पुगेका सत्यनारायण चौधरी २८४,राजनबहादुर ढुङ्गाना २५८ , टिकाराज सापकोटा ३१७, हेमन्त कार्की ३०५ र अम्बरबहादुर बराईलीले १७५ मत पाएका छन् ।

यसैगरी, खुल्ला दुई महिला सदस्यतर्फ दमककी रेगिना भट्टराई (४७३) र गौरादहकी लक्ष्मी बाह्रकोटी प्रसाई (४४८ ) मतका साथ विजयी बने । उनीहरुका प्रतिष्पर्धी चन्द्रा खड्का भट्टराईले २६१ मत ल्याएकी थिइन् । यसैगरी, खुल्ला खस आर्य पुरुषतर्फ दमकका डा. नेत्र बुढाथोकी (३५८) विजयी भए भने उनका प्रतिद्वन्द्वी दमककै विक्रम अधिकारी (२६४) ले मत पाएका थिए ।
यसैगरी, खस आर्यकै महिला कोटामा दमककी मन्दरा चिमरिया (४९५) मत ल्याई विजयी भईन् भने उनका प्रतिद्वन्द्वी तुलसा पन्त (१३८) ले मत पाइन् । यसैगरी, आदिवासी जनजातितर्फ पुरुषमा दमकका आइन्द्र विक्रम केरुङ (३९१) मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भूमिराज राईले (२५१) मत पाएका छन् ।

यस्तै, आदिवासी जनजातिकै महिलातर्फ गौरीगञ्जकी फूलवती राजवंशी(३६४ ) मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी रमा लिम्बूले (२८५ ) मत पाएकी छन् । हिजो भएको महासमितिको निर्वाचनमा कुल ७ सय ३२ मतदातामध्ये ६ सय ९१ मत खसेको थियो ।

खुल्ला तर्फका पाँचसहित विभिन्न क्लस्टरबाट समेत गरी कूल ११ जना महासमिति सदस्यका लागि ११ पदका लागि २१ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्