झापा, कात्तिक २४ । झापाको बुद्धशान्ति– ३ को सिमाना नजिक अर्जुनधारा– १० मा गएराति आगलागी हुँदा श्रीमतीको जलेर मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

राति ८.४० बजेको समयमा अर्जुनधारा १० बस्ने शिवकुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट उनकी श्रीमती ७५ वर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमा नै मृत्यु भएको हो । त्यस्तै ७३ वर्षीय शिबकुमार राईसमेत जलेर घाइते भएका छन् । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । दुबै खुट्टा पिल्सिएका राईलाई बीएण्डसीमा सामान्य उपचार गरी शनिश्चरे अस्पताल शनिश्चरेमा रेफर गरिएको छ ।

आगलागीबाट अन्नपात, कुखुरा र घर पूर्ण रुपमा जलेर नष्ट हुँदा ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । आगो प्रहरी र स्थानीयबासीको सहयोगमा राति ९.४५ बजे निभाइएको थियो । त्यस टहरामा राई दम्पत्ति बसेका थिए । आगलागीको कारण थाहा हुन नसकेको डीएसपी रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्