झापा, कात्तिक २४ । नेपाली बजारमा भारतीय फूलको निर्वाध प्रवेश रहेका बेला नेपालमै उत्पादित फूलले भने अन्तर्राष्ट्रिय बजार खोजी गरेको छ । तिहार नजिकिँदै गर्दा नेपाली मूलका नागरिक बसोवास गर्ने देश/स्थानमा फूलको बजार विस्तार गर्न लागिएको छ । यसै क्रममा चितवनबाट पहिलो पटक हङकङमा सयपत्री र मखमली फूल र मालाको निर्यात गर्न थालियो । कालिका नगरपालिकास्थित पदमपुरमा रहेको फूलमाला फर्म नेपालले ती फूलमाला शुक्रबार हवाई कार्गो गरी हङकङ पठाउँदै छ । फर्मका सञ्चालक गोविन्द बास्तोलाले पहिलो पटक छ सय सयपत्री र चार सय मखमली गरी हजार वटा माला र दुई क्विन्टल सयपत्री फूल निर्यात गर्न लागिएको जानकारी दिए ।“हामीले अन्तर्राष्ट्रिय बजारमा फूल निर्यातको खोजी गरिरहेका थियौँ । यही क्रममा नेपाली मूलका नागरिकको बाहुल्य रहेको हङकङमा पहिलो पटक सयपत्री र मखमली माला र फूल निर्यात गर्न लागेका हौँ,” उनले भने । भारतीय फूलले नेपाली बजारमा गरेको हस्तक्षेपकै कारण फूलको कारोबार के हुने भन्ने चिन्ता भइरहेका बेला हङकङ निर्यातले राहत दिने बास्तोलाको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्