झापा, कात्तिक २५ । अनारमनी सोसियल युथ क्लबद्वारा आयोजित बिर्तामोड रन म्याराथनको विजेता शिव कार्की र देविका तामाङ भएका छन् ।

आज बिहान आयोजित खुल्ला म्याराथनमा अन्य सहभागीहरुलाई पछि पार्दै पुरुषतर्फ कार्की र महिलातर्फ तामाङ विजेता बनेका हुन् । प्रतियोगितामा पुरुष र महिला गरी ४५ जना धावक सहभागी भएका थिए । पुरुषतर्फ कार्की प्रथम बन्दा सुखदेव टुडू द्वितीय र याङदेव राई तृतीय भएका छन् । त्यस्तै महिलातर्फ तामाङ प्रथम बन्दा साइना गुरुङ द्वितीय र रुपा राई तृतीय भएका छन् । प्रथम , द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः ७ हजार , ४ हजार र ३ हजार नगद , मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

बिहान बिर्तामोड नगरपालिका अगाडिबाट शुरु भएको म्याराथन भगवान चौक हुँदै मुक्ति चोक पुगेर पुनः नगरपालिका कार्यालय अगाडि आएर समापन भएको थियो । धावकहरुका लागि करिव ६ किलोमिटर दुरी तय गरिएको थियो । तिहार पर्वको उपलक्ष्यमा रोट्रयाक्ट क्लब अफ बिर्तामोड , वडा खेलकुद विकास समिति बिर्तामोड ३ र युनाइटेड युथ क्लबको सहयोगमा महिला र पुरुषको खुल्ला म्याराथन प्रतियोगिता आयोजना गरिएको कार्यक्रम सयोजक प्रभास थापामगरले बताए ।

विजेताहरुलाई अनारमनी सोसियल युथ क्लबका अध्यक्ष प्रभास थापामगर , बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई , इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्की ,रोट्रयाक्ट क्लब अफ बिर्तामोडका अध्यक्ष बाप्पा शाह ,बिर्ताबजार प्रहरी चौकीका इन्चार्ज टीकाराम कार्की, चौकी व्यवस्थापन समितिका अध्यक्ष विरेन कोइरालालगायतले पुरस्कार , मेडल र प्रमाणपत्र वितरण गरेका थिए । अनारमनी सोसियल युथ क्लबले गत वर्षदेखि म्याराथन प्रतियोगिता गराउँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्