झापा, कात्तिक २६ । गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा गएराति घरमा आगलागी हुँदा जलेर आमा छोराको मृत्यु भएको छ ।

७८ वर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ वर्षीय छोरा चमारसिंह गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

आगलागीबाट घर पूर्ण रुपमा नष्ट भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए। वडाध्यक्ष रामसिंह गुरुङले घटनाबारे शनिबार राति १० बजे खबर आएको बताए। ‘खबर आएलगत्तै हामी त्यहाँ पुग्दा घरको बाहिरै भागमा समेत आगो फैलिसकेको रहेछ, गाग्री र बाल्टीमा पानी बोकेर आगो निभाउन हामीलाई करिव डेढ घण्टा जति लाग्यो, बल्लतल्ल आगो नियन्त्रणमा आयो। घरभित्र पस्दा दुबै जनाको शव जलेर चिन्नै नसक्ने अवस्थामा फेला पार्यौ ’, उनले भने।

चिसोका कारण न्यानो बनाउन फुकेको आगो फैलिएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्