एजेन्सी । श्रृंखलाबद्ध रुपमा भूकम्प गएपछि ज्वालामुखी विस्फोट हुने त्रासमा आइसल्यान्डले राष्ट्रिय संकटकालको घोषणा गरेको छ ।

अधिकारीहरुले सचेतना अपनाउँदै दक्षिण पश्चिम नगर ग्रिनडाभिकबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएका छन् । सो नगरमा ४ हजार मानिस बस्दै आएका थिए ।

आइसल्यान्डिक मेट्रोलोजिकल अफिसले रेक्यानेस प्रायद्वीपभित्रै र त्यस आसपासको क्षेत्रमा ज्वालामुखी विस्फोटको ठूलो जोखिम रहेको जनाएको छ । कहिले भनेर यकिनका साथ भन्न नसके पनि चाँडै ज्वालामुखी पुनः विस्फोट हुने जनाएको छ । सो क्षेत्रमा ८ सय वर्षपछि २०२१ मा ज्वालामुखी सक्रिय भएको थियो ।

केही साताभित्र फाग्रादाल्स्फ्याक ज्वालामुखीनजिकै हजारौं पटक भूकम्प मापन गरिएको छ । पछिल्लो १५ दिनमा सो क्षेत्रमा साना ठूला गरी २० हजारभन्दा बढी पटक भूकम्प मापन गरिएको बीबीसीले जनाएको छ । पछिल्लो ४८ घण्टामा सो क्षेत्रमा १ हजार ४८ पटक भूकम्प मापन गरिएको छ । नगरको सतहमुनि लाभाको सुरुङ बनेको अधिकारीहरुले बताएका छन् ।

आइसल्यान्ड सक्रिय भौगर्भिक क्षेत्रमा पर्छ । जसमा करिब ३० वटा सक्रिय ज्वालामुखी स्थलहरु रहेका छन् । ८ सय वर्षदेखि निष्क्रिय रहेको फाग्रादाल्स्फ्याक पहाडमा २०२१, २०२२ र २०२३ मा ज्वालामुखीबाट लाभाहरु बाहिर निस्किएका थिए । पछिल्लो समय गत जुनमा सो ज्वालामुखीबाट लाभा बाहिर निस्किएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्