एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध भारतले १६० रनको फराकिलो जित निकालेको छ।


बैंगलोरको एम चिन्नस्वामी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर नेदरल्यान्ड्स सामु ४ सय १० रनको विशाल लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले ४७ दशमलव ५ ओभरमा २५० रन बनाउँदा सबै विकेट गुमायो। नेदरल्यान्ड्सका तेजा निदामानुरु अर्धशतक प्रहार गरे। उनले ३९ बलमा ५४ रन जोडे । साइब्रान्ड एन्जलब्रेच्टले ४५ रन जोडे।

बलिङतर्फ भारतका जसप्रित बुम्रहा, मोहम्मेद सिराज, कुलदीप यादव र रविन्द्र जडेजाले समान दुई–दुई विकेट लिए भने विराट कोहली र रोहित शर्माले समान एक–एक विकेट लिए।

त्यसअघि पहिलो विकेटका लागि कप्तान रोहित शर्मा र शुभमन गीलले ७१ बलमा १ सय रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। रोहित ६१ रन र गिल ५१ रनमा आउट भए।

विराट कोहली ५१ रन बनाएर रोइलोफ भ्यान डेर मर्वेको शिकार भए। चौंथौ विकेटका लागि श्रेयस आय्यर र के एल राहुलले १ सय २८ बलमा २ सय ८ रनको साझेदारी गरे। ६२ बलमा शतक पूरा गरेका राहुल भारतका लागि विश्वकपमा सर्वाधिक छिटो शतक बनाउने ब्याटर बने। उनी १ सय २ रनमा आउट भए। श्रेयस १ सय २८ रनमा नट आउट रहे। विश्वकपमा उनको पहिलो शतक हो। विश्वकप क्रिकेटमा टप अर्डरका पाँच ब्याट्सम्यानले ५० रन माथि बनाएको यो पहिलो पटक हो।

नेदरल्यान्ड्सका बास डे लीडेले २ तथा पोल भ्यान मिकरेन, मर्वेले एक–एक विकेट लिए। समूह चरणमा लगातार ९ खेलमा जित निकालेको भारत अपराजित रहँदै सेमिफाइनलमा पुग्यो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्