पुलिस लगाएर थुनाइदिने मुख्यमन्त्री कार्कीको चेतावनी
झापा, कात्तिक २८ । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले उपचार गराइरहेका १० जना आगलागीका घाइतेलाई थप उपचार गर्न काठमाडौं लैजान अवरोध गरेको छ ।

बीएण्डसीमा भर्ना गरिएका घाइते

दुर्गा प्रसाईंले सञ्चालन गरेको उक्त अस्पतालले उपचारमा लागेको खर्च नतिरेसम्म बिरामी अन्यत्र लैजान नदिने भन्दै रिफर गर्न आनाकानी गरेको हो ।

उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएर अस्पतालमा उपचार गराइरहेका १० जना सिकिस्त छन् । सो अस्पतालमा उर्लाबारी– ७ का सुमन सेन्दाङ, लालबहादुर लिम्बू, कविराज दाहाल, तपन पण्डित, विक्रम साहा उपचाररत छन् । यस्तै सोही ठाउँका प्रकाश लिम्बू, रुकुमबहादुर कार्की, नवीन थापा, हेमकुमार दाहाल र करण संग्रौलाको पनि गम्भीर अवस्थामा उपचार हुँदैछ ।

उनीहरुलाई कोशी प्रदेश सरकारको समन्वयमा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजाने तयारी भएपनि बीएण्डसीले उपचार गर्दा लागेको खर्च जम्मा गर्न भन्दै आएको छ ।

अस्पतालले घाइतेलाई निकाल्न अवरोध गरेपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आज बिहान आफैं बीएण्डसी अस्पताल पुगेका थिए । उनले घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि दशै जनालाई काठमाडौं लाने बताए ।
अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले उपचाररत बिरामीको उपचार खर्च बुझाएरमात्र लैजान भनेपछि मुख्यमन्त्री कार्की र प्रसाईंबीच विवादसमेत भएको छ । प्रसाईंले ‘सबै खर्च बुझेर मात्र डिस्चार्ज गर्ने’ भनेपछि मुख्यमन्त्री कार्कीले ‘बिरामीको ज्यान दायाँबायाँ भए प्रहरी लगाएर थुनाइदिने’ चेतावनी दिएका छन् ।
मुख्यमन्त्री कार्कीले प्रसाईंसँग विवाद भएको तर उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताए । उनले भने, ‘प्रक्रियागत कारणले केही समय लाग्नसक्छ । उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने हो ।’

संकटको बेला पैसाभन्दा पनि मानवीय चरित्र र सहयोगी भावना देखाउन आफूले प्रसाईंलाई सम्झाएको कार्कीले बताए ।
लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी– ७ स्थित दीपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना जलेर घाइते भएका थिए । तीमध्ये विराटनगरका विभिन्न अस्पतालमा उपचाररत १४ जनालाई हिजो बर्न अस्पताल कीर्तिपुर पठाइएको थियो ।

बीएण्डसीबाट घाइतेलाई काठमाडौं लगिदै

प्रदेश सरकारको समन्वयमा थप उपचार गर्न उनीहरुलाई सेनाको स्काई ट्रकले विराटनगर विमानस्थलबाट काठमाडौं लगेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्