एजेन्सी । विश्वकप क्रिकेटअन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदै छन्। प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज घरेलु टोली भारतले न्यूजिल्यान्डको सामना गर्दैछ।

वानखेडे स्टेडियम मुम्बईमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने छ। रोहित शर्माको नेतृत्वमा रहेको घरेलु टोली जारी विश्वकपमा अपराजित छ । भारत सन् २०११ पछि पहिलो पटक फाइनलमा पुग्न चाहन्छ । आफ्नो अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको न्यूजिल्यान्डले लिग चरणमा ९ मध्ये ५ खेल जित्दै चौथो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको हो।

अघिल्ला दुई संस्करणमा फाइनल पुगेपनि उपाधि जित्न असफल न्यूजिल्यान्ड लगातार तेस्रो पटक उपाधि भिडन्त पक्का गर्ने योजनामा हुने छ । भारत पछिल्ला १० वर्षमा आईसीसीले गरेका ९ वटा प्रतियोगितामा ८ पटक नकआउट चरणबाटै बाहिरिएको छ। सन् २०१९ विश्वकपको सेमिफाइनलमा भारतविरुद्ध न्यूजिल्याण्ड १८ रन र २०२१ टेस्ट च्याम्पियनसिपको फाइनलमा ८ विकेटले विजयी भएको थियो। भारत यी दुवै हारको बदला लिने सोचमा हुने छ।

भारतले लिग चरणमा न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो। ५ सय ९४ रन बनाएका विराट कोहली जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले २ शतकसमेत बनाएका छन्।
न्यूजिल्यान्डका युवा स्टार रचिन रवीन्द्रले सबैलाई प्रभावित गरेका छन्। उनले ३ शतकको मद्दतमा ५ सय ६५ रन बनाएका छन्। जसप्रीत बुमराहले ३ दशमलव ६५ को अविश्वसनीय इकोनोमी रेटसहित १७ विकेट लिएका छन्। मिचेल सान्टनरको नाममा १६ विकेट छ।

एक दिवसीय विश्वकपमा न्यूजिल्यान्डले भारतविरुद्ध ९ खेल खेल्दा ५ जित र ४ खेलमा हार बेहोरेको छ। दोस्रो सेमिफाइनलमा बिहीबार अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्