झापा, कात्तिक ३० । तिहार र आसपासका बेला झापामा धेरै आगलागीका घटना भएका छन् । आगलागीमा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । १६ दिनको अवधिमा १४ वटा आगलागीका घटना भएको र त्यसबाट ७० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

गत कात्तिक २३ गते राति ८.४० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं. १० बस्ने शिवकुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा उनकीे श्रीमती ७५ वर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त आगलागीबाट ७३ वर्षीय शिबकुमार राईसमेत जलेर सामान्य घाईते भएका थिए । उपचारपश्चात् उनी घर फर्किएका छन् । आगलागीबाट घर,अन्नपात,कुखुरा पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै गत कात्तिक १३ गते राति १२.४५ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं. ८ किसनभिट्टा बस्ने शेरबहादुर बिष्टको घरनजिकै रहेको धानसहितको परालको कुन्युमा अचानक आगलागी हुँदा २२ कठ्ठा खेतको अन्दाजी ६० मन धान र परालसमेत जलेर नष्ट हुँदा अन्दाजी ७२ हजार बराबरको क्षति भएको प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै गत कात्तिक १५ गते बिहान ८ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं. ११ लाबरबोटे टोल बस्ने टीकाराम कार्कीको गाईगोठमा खोले पकाउने चुलोबाट अचानक आगलागी हुँदा गाईगोठ तथा गोठमा राखेको काठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । जसबाट अन्दाजी ३ लाख बराबरको क्षति भएको छ । त्यसको भोलिपल्ट कात्तिक १६ गते अन्दाजी ५.३० बजेको समयमा भद्रपुर नगरपालिका वडा नं. ८ स्थित प्रादेशिक अस्पताल अगाडी रहेको मानबहादुर खड्का र यमकुमारी खड्काले संचालन गरेको सिन्धुली खाजा घरको ग्यास चुल्होको रेगुलेटरबाट अचानक ग्यास लिक भई आगलागी हुँदा ग्यास चुल्हो, किचन र्याक, खाद्यान्न, भाडावर्तन, पानीको ड्रमलगायतका सामानहरु जल्दा अन्दाजी ५० हजार बराबरको क्षति भएको छ ।

त्यसको भोलिपल्ट कात्तिक १७ गते दिउँसो १.३० बजेको समयमा दमक नगरपालिका वडा नं.३ दुम्से बस्ने ६५ वर्षीय लक्ष्मण महतको २ तले टाडे घरमा बिजुलीको तार अचानक सर्ट हुन गई आगलागी हुँदा माथिल्लो तल्ला पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरकोठाभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन अन्दाजी ७ लाख , नगद रु.१ लाख ,२० हजार , सुन १५ तोला ,चाँदी १० तोलागरी जम्मा २३ लाख ३४ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । त्यस्तै कात्तिक २१ गते दिउँसो १.३० बजेको समयमा झापा गाउँपालिका वडा नं. ३ स्थित मनारु हकको घरछेउमा राखेको मकैको खोस्टाको सन्ठी राखिएको ठाउँमा अचानक आगलागी भई आगो निभाउने क्रममा मनरु हककी श्रीमती ४७ वर्षीया रफिम बीबी घाइते भएकी छन् । अनुहारमा जलेर सामान्य घाइते उनलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको थियो ।

सोही घटनाको भोलिपल्ट कात्तिक २२ गते मध्यान्ह १२ः३० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं. ९ नरियाबारी बस्ने पुष्पराज आचार्यको खेतमा रहेको धानको ठुटा जरामा आगो लगाई जलाउने क्रममा उक्त आगोले ५ कठ्ठा खेतको परालको कुन्युमा आगो सल्किन गई पराल पूर्णरुपमा जली नष्ट हुनुका साथै २ वटा कुकुरको बच्चाहरु समेत जलेर मरेका छन् । आगलागीबाट १० हजार बराबरको क्षति भएको जनाइएको छ । त्यस्तै कात्तिक २४ गते साँझ ५.२० बजेको समयमा बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मंगलबारे बस्ने जेठा भन्ने कुमार तामाङको गाईगोठमा खोले पकाउने क्रममा अचानक आगलागी हुँदा घर बनाउन राखेको सखुवाको काठ अन्दाजी १५० क्यू.फिट, कुकाठ अन्दाजी ५५ क्यू.फिट, धान १२ मन, मकै ४ मन, गोठमा राखेको पराल र गोठ समेत पूर्णरुपमा जल्दा अन्दाजी १० लाख बराबरको क्षति भएको छ ।

त्यस्तै कात्तिक २७ गते बिहान ४.३० बजेको समयमा झापा गाउँपालिका वडा नं. ६ हनुमान चोक बस्ने राजन मण्डलको काठको खम्बा, टिनको छानो टाटी बेरा भएको भुइँतले घरमा बिजुलीको लाईन सर्ट भई आगलागी हुँदा घरभित्र रहेका नगद रु.६० हजार ,सुन २ तोला ,चाँदी ११ तोला, लत्ताकपडा, भाडाबर्तन ,काठ र घर पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी ५ लाख ३१ हजार बराबरको क्षति भएको छ ।

त्यसको भोलिपल्ट कात्तिक २८ गते दिउँसो ४.१५ बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नं. १ बरपिपल चौक वस्ने देवीनारायण श्रेष्ठको घरनजिकै खेतमा रहेको एक बिगाह खेतको धानको कुन्युमा अचानक आगलागी भई धान पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी ९२ हजार बराबरको क्षति भएको छ ।
सोही दिन दिउँसो ४ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं. ८ गरामनी बस्ने युवराज पौडेलको घरछेउमा रहेको धानसहितको परालको कुन्युमा आगलागी हुँदा अन्दाजी ३० मन धानसहितको पराल जलेर नष्ट भएको छ । जसबाट अन्दाजी ४० हजार बराबरको क्षति भएको छ ।

त्यसको भोलिपल्ट कात्तिक २९ गते बिहान २.३० बजेको समयमा दमक नगरपालिका वडा नं.३ दुम्से बस्ने मनबहादुर बोहराको टिनको छानो, टाटीको बेरा भएको एकतले गाईगोठबाट अचानक आगलागी हुँदा ठूलो क्षति भएको छ । सो आगलागीबाट मनबहादुर बोहराको टिनको छानो, टाटीको बेरा भएको एकतले गाईगोठ पूर्णरुपमा जलेको र उनकै टिनको छानो, इटा सिमेन्टको वाल, भुइँढलान भएको एकतले घर र सो घरभित्र रहेको नगद रु २ लाख , सुन ५ तोला, चाँदी ५ तोला, काठ, अन्नपात, लत्ताकपडा, भाडावर्तन नष्ट भएका छन् भने ४ वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट बोहोराको २२ लाख बराबरको धनमाल जलेर नष्ट भएको जनाइएको छ ।

सोही आगलागीबाट कृष्ण कार्कीको टिनको छानो, टाटीको बेरा भएको एकतले गाईगोठ पूर्ण रुपमा जलेको र उनकै टिनको छानो, इटा सिमेन्टको वाल भएको एकतले घर सामान्य जल्दा अन्दाजी २ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै गएराति १०.२५ बजेको समयमा दमक नगरपालिका वडा नं. ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर हट नं.सी फोर सेक्टर ३६९ बस्ने ३० वर्षीया गीतामाया सुब्बाको टिनको छानो र बासको टाटीबेरा भएको एकतले खाली घरमा अचानक आगलागी भई पूर्णरुपमा जलेर नष्ट हुँदा एक लाख बराबरको क्षति भएको छ ।

त्यस्तै आज बिहान २ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं.१ पञ्चकन्या टोल बस्ने नन्दकुमार प्रसाईको दुईतले पक्की घरको भुइँतलामा रहेको स्टोर रुममा अचानक आगलागी भई घरभित्र रहेका लत्ताकपडा र दराजहरु जलेर नष्ट हुँदा डेढ लाख बराबरको क्षति भएको छ । तिहारका बेलामा आगलागीका घटना बढेको डीएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्