झापा, कात्तिक २७ । पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रिय प्रजातन्त्र पार्टीतिर ढल्किएपछि रुष्ट बनेका दुर्गा प्रसाईले मंसिर ९ गतेको कार्यक्रम बिथोल्न खोजेका छन् ।

शाहले अनावरण गर्ने भनिएको शालिक

आफूलाई राजावादी भन्ने गरेका प्रसाईका कार्यकर्ताहरुले मंसिर ९ गते पूर्वराजा शाह झापा आउने कार्यक्रम स्थगित भएको भन्दै भ्रम फैलाउन खोजेका हुन् । प्रसाईका कार्यकर्ता देवी संग्रौलालगायतले सामाजिक संजालमार्फत पूर्वराजाले झापा आउन अस्वीकार गरेको कुरा उल्लेख गरेका छन् ।

त्यसरी अचानक शाह नआउने हल्ला फैलाएपछि त्यस विषयमा छलफल गर्न राप्रपा झापाको जिल्ला पार्टी कार्यालयमा आज बैठक बसेको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा भएको बैठकले पूर्वराजा शाहको सचिवालयमा फोन गरी कार्यक्रम स्थगित नभएको कुरा यकिन गरेको थियो । ‘सामाजिक संजालमा विभिन्न भ्रम फैलाएपछि हामीले तत्काल सचिवालयमा बुझ्यौं’राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाले भने ,‘ पूर्वराजा नआउने कुरै रहेनछ बजारमा भ्रम फैलाउने कोसिस मात्र भएको हो । ’

प्रसाईका कार्यकर्ताले फैलाएको भ्रम

बीएण्डसी हस्पिटलका संचालक प्रसाईले मंसिर ७ गते राजधानीमा विरोध कार्यक्रम गर्दैछन् । प्रसाई नेतृत्वको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि साथ र समर्थन रहेको चर्चा हुने गरेको छ ।तर, पूर्वराजा शाह प्रसाईको मंसिर ७ को कार्यक्रममा उपस्थित नरहने जनाइएको छ । शाह मंसिर ८ गते झापा आउने भएका छन् । मंसिर ९ गते हुने उक्त कार्यक्रमको लागि पूर्वराजा एक दिनअघि नै झापा आउने भएका हुन् । एक दिन अगावै आएर पूर्वराजा शाह मेचीनगरस्थित होटल मेची क्राउनमा बस्ने जिल्ला अध्यक्ष ओझाले बताए ।

झापाको कार्यक्रम भव्य बनाउनको लागि राप्रपा अध्यक्ष लिङ्देनलाई निर्मल निवासको निर्देशन रहेको बुझिएको छ । पूर्वराजाले प्रसाईलाई भन्दा बढी महत्व लिङ्देनलाई दिएको बताइन्छ । पूर्वराजा शाहको कार्यक्रमका लागि अध्यक्ष लिङ्देन केही दिनदेखि झापामै रहेका छन् । उनकै नेतृत्वमा पूर्वराजालाई स्वागत सम्मानको तयारी भइरहेको ओझाले बताए । देवी पञ्चकन्यामा रहेको इकोम कलेजले ८ महिनाअघि निर्माण गरेको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न शाह आउन लागेका हुन् । इकोमका सञ्चालक आलोक कार्कीले मंसिर ९ गते पूर्वराजा आउने कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको जानकारी दिए । उनले त्यसबारे आज फेरि सचिवालयसंग कन्फरमेसन गरेको जानकारी दिए ।

पूर्वराजा शाह इकोमको कार्यक्रममा आउने भएपछि राप्रपाले पनि सोही मौका छोपेर भव्य स्वागतको तयारी गरिरहेको हो ।कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण कार्यकर्ताहरुलाई आव्हान गरिएको जिल्ला अध्यक्ष ओझाले बताए । ८ महिनाअघि निर्माण भइसकेर छोपेर राखिएको शालिक अनावरणका लागि कलेजले पूर्वराजा ज्ञानेन्द्र पर्खिरहेको थियो । कलेज टिमले अनावरणका लागि निकै कसरत गरेर कार्यक्रम निश्चित गरेको हो । यसलाई आफूहरुले अभूतपूर्व लिएको संचालक कार्कीले बताए ।

कलेजका सञ्चालक कार्कीले भने, ‘आफूहरु राजावादी नभएर पृथ्वीनारायणकै वंशजबाट अनावरण गर्न चाहेका मात्र हौं । हाम्रो प्राथमिकता भनेको विभूतिको अनावरण मात्रै हो ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्