बिर्तामोड,मंसिर ३ । स्वर्गीय नरेशमान धिमालको श्रद्धाञ्जली सभामा गौरवशाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लवकुमार चौधरी यति धेरै भावुक भए कि उनले शोक मन्तव्य दिनै सकेनन् । संस्थाका संस्थापक सदस्य धिमालको योगदानले उनलाई स्तव्ध र मर्माहत बनाएको हो । बोल्न खोज्दा उनी भक्कानिए ।

गौरवशाली साकोसका संस्थापक सदस्य तथा हाल संचालक समिति सदस्य रहेका धिमालप्रति श्रद्धाञ्जली दिन संस्थाले शनिवार श्रद्धाञ्जली सभा राखेको थियो । स्व. धिमालको तस्वीरमा माल्र्यापण गर्दै सहभागीहरुले शालिन , भद्र र मिलनसार स्वभावका धिमालको निधनले अपुरणीय क्षति भएको भन्दै उनले दिएको योगदान अविस्मरणीय रहने बताएका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष युवराज बिमली , सचिव मीरा खड्का , पूर्व सचिव तेजनारायण चौधरी, सल्लाहकारहरु कपिलमणि शिवाकोटी , पुष्पलाल चौधरी , इन्द्रसिंह राजवंशी ,लेखा समिति संयोजक महादेव चौधरीलगायतले शोक मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सहसचिव रुपा राजवंशीले गरेकी थिइन् । गौरवशाली साकोसले स्व. धिमालप्रति श्रद्धाञ्जली दिन १३ दिनसम्म कार्यालयमा शोकपुस्तिका राखेको छ ।

शिक्षासेवी तथा समाजसेवी धिमालको गत कात्तिक २९ गते भाइटीकाको दिन ६५ वर्षको उमेरमा निधन भएको हो ।
टावर टेम्पल स्कूलका संस्थापक धिमाल, धिमाल जाति विकास केन्द्र , गौरवशाली बचत तथा ऋण सहकारी संस्थालगायतका विभिन्न संस्थाहरुमा आवद्ध रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्