झापा, मंसिर ४ । ठेक्का लिनको लागि हानाथाप गर्ने अनि ठेक्का पाइसकेपछि लापर्वाही गर्ने प्रवृति बढेपछि बिर्तामोड– ९ का उपभोक्ताहरुले बाटोको ठेकेदारलाई तुलसी पानी समाउन लगाई समयमै काम पूरा गर्ने संकल्प गर्न लगाएका छन् ।

सभामुख देवराज घिमिरेले शहीद चन्द्र मार्गको बाटोको शिलान्यास गर्दैगर्दा उपभोक्ताहरुले ठेकेदार कम्पनीका प्रतिनिधि दलवीर लिम्बूलाई तुलसी पानी समाउन लगाई कसम खुवाएका हुन् । सडक बोर्डले हल्दिवारीको सिमाना संझना चौकदेखि उत्तरपट्टी प्लमसहित ४५० मिटर कालोपत्रे बाटो निर्माण गर्नका लागि एक करोड बजेट छुट्याएको थियो । ठेक्का प्रक्रियामा जनकपुरको एसबीएम कन्स्ट्रक्सनले ४० प्रतिशत कम रेट(६० लाख)मा सो बाटो ठेक्कामा पारेको हो ।

यसरी ४० प्रतिशत कम रेटमा ठेक्का लिएका ठेकेदार कम्पनीका प्रतिनिधि लिम्बूलाई शिलान्यास कार्यक्रममा संकल्प गर्न लगाएका हुन् ।पण्डित तुलसी निरौलाले मन्त्रोच्चारण गरी लिम्बूलाई समयमै बाटो निर्माण गर्ने कसम खुवाएका थिए । कात्तिकमा संझौता गरेको कम्पनीको काम सक्ने अन्तिम म्याद आगामी जेठसम्म रहेको छ । ४५० मिटर लम्बाई र ७ मिटर चौडाई हुने सडकको दुवैपट्टी प्लम र प्लमभित्र एक–एक मिटर पैदलमार्ग रहने सडक डिभिजन दमकका डिभिजन इन्जिनियर सुरेश पौडेलले बताए । उनले सडक बोर्डबाटै पुनः सो बाटोको लागि १ करोड १० लाख बजेट बिनियोजन भएको जानकारी दिए । त्यसबाट ८ सय मिटर बाटो बन्ने उनले बताए ।

शिलान्यास कार्यक्रममा संघीय सांसद अमृतलाल राजवंशी , प्रदेश सांसदहरु एकराज कार्की , छविलाल चुडाल, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई ,एमाले बिर्तामोड अध्यक्ष सुवास भट्टराईलगायत जनप्रतिनिधि , पार्टीका कार्यकर्ता र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्