झापा,मंसिर ५ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको कार्यक्रमका लागि राजधानी जानेहरुलाई लक्षित गरी झापा प्रहरीले सवारी चेकजाँचमा कडाई गरेको छ ।

नियमित चेकजाँचसंगै प्रहरीले पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँहरुमा आइतवारदेखि स्पेशल चेकिङ शुरु गरेको हो । प्रसाईको राजधानी केन्द्रित कार्यक्रमलाई लक्षित गरी राजधानी जानेहरुको चेकिङमा कडाई गरिएको प्रहरीले जनाएको छ । ‘जिल्लाभरि ४–५ ठाउँमा चेकिङ भइरहेको छ ’ एक प्रहरी अधिकारीले भने, ‘आन्दोलनमा जानेहरुले हातहतियार लानसक्ने भएकाले खानतलासी पनि गरिरहेका छौं ।’

प्रहरीले प्रसाईको आन्दोलनमा झापाबाट जानेहरुको संख्या गणनासमेत गरिरहेको छ । आज प्रसाईसंग ११ वटा गाडीमा ५५ जना सिरहाको लहान गएको ती प्रहरी अधिकारीले बताए ।अहिलेसम्म प्रसाईको कार्यक्रमका लागि भनेर करिव तीन सय जना काठमाडौं गएको प्रहरीले अनुमान गरेको छ ।

मंसिर ७ को कार्यक्रममा युवा संघ र प्रसाई समर्थकबीच मुठभेड हुनसक्ने देखेर चारवटै सुरक्षा निकायलाई सरकारले परिचालन गर्ने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्