झापा, मंसिर ५ । सब्टिच्युट खेलाडी ओमार अब्दुल्लाहले दोस्रो हाफमा गरेको उत्कृष्ट गोलको मद्दतले यमनले एसियाली विश्वकप छनोट दोस्रो चरणमा मंगलबार नेपाललाई २–० पराजित गरेको छ ।

दशरथ रंगशालामा मंगलबार भएको खेलमा उनले नेपालका तीन डिफेन्डरलाई बिट गर्दै अगाडि बढाएको बलमा शक्तिशाली प्रहार गर्दै ७३ औं मिनेटमा गोल गरेका हुन् । त्यस प्रहारमा नेपाली गोलरक्षक किरण लिम्बूसामु बचाउको कुनै पनि अवसर थिएन । यमनका लागि दोस्रो गोल मोहम्मद अब्दुल्लाहले ९० औं मिनेटमा थपे । यसका लागि उनले आफ्नो अगाडि नेपाली गोलरक्षक किरणमात्र भएको स्थितिमा बललाई हल्का उचाई दिएर पोस्टको दिशा दिए ।

यमनले पूरा खेल अवधिमा दुईभन्दा बढी स्पष्ट आक्रमण बुनेको थियो र जितका लागि हकदार रह्यो । यो नतिजापछि यमनले ३ अंक बटुलेको छ । नेपाल भने दुई खेलपछि दुवै खेलमा पराजित रहेर शून्य अंकमै रह्यो ।

पहिलो हाफमा कुनै पनि निर्णायक आक्रमण बुन्न नसकेको नेपालका लागि दोस्रो हाफमा हिसुब थपलियाले बलियो राम्रो आक्रमण बुने । सब्टिच्युट खेलाडीका रूपमा मैदानमा छिरेका हिसुब ६१ औं मिनेटमा गोल गर्न चुकेका हुन् । यमनी गोलरक्षक अब्दुल्ला अब्दुलले वान भर्नेस वानको स्थिति उत्कृष्ट बचाउ गरेका हुन् । यमनविरुद्ध नेपालको यो पाँचौं खेलमा चौथा हार हो । यमन नेपालविरुद्ध अपराजित रहेको छ र त्यसमध्ये एकै खेलमात्र गोलरहित बराबरीमा टुंगेको छ ।

नेपाल एसियाली छनोट दोस्रो चरणको पहिलो खेलमा यूएईसँग ४–० ले पराजित भएको थियो । यमन भने अर्को खेलमा बहराइनसँग २–० ले हारेको थियो । यस अगाडि छनोटको पहिलो चरणमा नेपालले लाओसको चुनौती काटेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्