झापा, मंसिर ६ । हरिबोधिनी एकादशी (तुलसी विवाह) को अवसरमा झापाका चार पालिकाले भोलि बिहीबार स्थानीय बिदा दिएका छन् । । कचनकवल गाउँपालिकाले भने पर्सी शुक्रबार बिदा दिएको छ ।

आदिवासी राजवंशी तथा अन्य बहुसंख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वको अवसरमा भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका,हल्दिवारी गाउँपालिका र झापा गाउँपालिकाले हरिबोधिनी एकादशीकै दिन स्थानीय बिदा दिएका हुन् । कचनकवलले एकादशी सकिएको भोलिपल्ट बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ । स्थानीय बिदाका दिन पालिका र पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशीमध्ये सबैभन्दा ठुलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठुलो एकादशी पनि भनिन्छ । हिन्दु धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु सोही दिन उठ्ने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्