झापा, मंसिर ६ । पूर्वराजा ज्ञानेन्द्र शाह आउने कार्यक्रमको तयारी पूरा भएको जनाउँदै बिर्तामोडको इकोम कलेजले आफ्नो कार्यक्रम राजनीतिक नभएको स्पष्ट पारेको छ ।

पूर्व राजा आउने बेलामा राप्रपाको अगुवाईको प्रचार भइरहेपनि कलेजले आफूहरुले विगत सात महिनादेखि गरेको पहलबाटै पूर्व राजा शाहको कार्यक्रम तय भएको जानकारी दिएको छ ।

शाहको मंसिर ९ गतेको कार्यक्रमको बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै कलेजका अध्यक्ष आलोक कार्कीले राप्रपाले आफूहरुको कार्यक्रमको मौका मात्र छोपेको बताए । विभिन्न तर्फबाट कलेजको कार्यक्रमलाई राजनीतिकरण गर्न खोजेकोमा त्यसलाई चिर्दै उनले नेपाल एकीकरण गर्ने राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न उनकै वंशका भएर मात्र पूर्व राजा शाहलाई निम्त्याएको स्पष्ट पारे ।

कलेजभन्दा बाहिर अरुहरुले राजनीतिक कार्यक्रम गर्न खोजेपनि कलेजको प्रांगणभित्र राजनीतिक गतिविधि नहुने भन्दै उनले शाहको हातबाट शालिक अनावरण र कलेज उद्घाटन कार्यक्रम रहेको जानकारी दिए । शाहको कार्यक्रम तालिका सार्वजनिक गर्दै उनले मंसिर ९ गते मध्यान्ह १२ बजे होटल मेची क्राउनबाट शाह प्रस्थान गर्ने र र्यालीसहित बिर्तामोडमा आइसकेपछि दिउँसो १ बजे कलेजमा प्रवेश गर्ने बताए । कलेजमा सालिक अनावरण र कलेज उद्घाटनका लागि बढीमा आधा घण्टा समय पूर्व राजाले दिन सक्ने उनले अनुमान गरे ।

उता राप्रपाले बिर्तामोडको कार्यक्रम भव्य बनाउनको लागि विभिन्न तयारी गरिरहेको बुझिएको छ । पूर्वराजा शाहको कार्यक्रमका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनदेखि झापामै रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्