बिर्तामोड, मंसिर ६ । बिर्तामोड नगर अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा थप गरिएको छ । अस्पतालमा मंसिर ५ गतेदेखि यो सेवा सुरु गरिएको हो ।

शनिबारबाहेक हरेक दिन दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिए । उनले स्त्री तथा प्रसुती रोगसम्बन्धी सबै रोगहरु विशेषज्ञ डाक्टर शिवेश चौधरीले जाँच गर्ने बताए ।

नगर अस्पतालमा रेविज विरुद्वको भ्याक्सिनसमेत उपलव्ध भएको छ । यो सेवा पनि शनिबार बाहेकका दिनमा उपलव्ध रहने मेसु डा. अधिकारीले जानकारी दिए ।

नगरपालिकाले आवश्यक पूर्वाधार थप गरी क्रमशः सेवा विस्तार गरिरहेको छ । अस्पतालमा २४सै घण्टा निःशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवा, बालरोग विशेषज्ञ सेवा, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ सेवा, स्वास्थ्य विमालगायतका सेवा यसअघिदेखि नै सञ्चालनमा छ ।

यसैगरी सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधिसहितको प्रयोगशाला ल्याव, बच्चाहरुको नियमित खोपलगायतका सेवासमेत उपलब्ध छ ।

नगर अस्पतालमा दैनिक ३ सय ५० जनाभन्दा बढीले सेवा लिइरहेका छन् । अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवा सञ्चालनको तयारी पनि भईरहेको छ । नगर अस्पताल सुविधासम्पन्न हुँदै गएपछि सर्वसाधारणले निजी अस्पतालमा गएर महंगो शुल्कमा चेकजाँच तथा उपचार गराउनु पर्ने बाध्यता हट्दै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्