झापा, मंसिर ७ । प्रमुख प्रतिपक्षी एमालेनिकट युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का छुट्टाछुट्टै प्रदर्शनलाई मध्यनजर गरेर सरकारले राजधानीमा विशेष सुरक्षा कार्ययोजना लागू गरेको छ ।

प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति फिल्डमै खटाइएको छ भने सेनासहितको संयुक्त सुरक्षा संयन्त्रलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा अपरेसन कमान्डका रूपमा खडा गरिएको छ ।

खासगरी प्रसाईं नेतृत्वको अभियानले व्यवस्था नै परिवर्तन गर्ने मागसहित आन्दोलन घोषणा गरेपछि सरकारले व्यवस्थाविरोधी पक्षबाट अप्रिय घटना हुन सक्ने जोखिमको आकलन गरेर सुरक्षा संयन्त्रलाई हाई अलर्टमा राखेको हो । दुवै पक्षले उपत्यका बाहिरबाट मानिस ओसारेका छन् । एकअर्का लक्षित उत्तेजक अभिव्यक्तिसहित एकैदिन दुई पक्षले राजधानीका विभिन्न स्थानबाट ¥याली निकाल्ने तयारी गरेका छन् । त्यसक्रममा जम्काभेट र घुसपैठ हुन नदिन पनि सुरक्षा जनशक्तिलाई बाक्लो तैनाथ गराइएको छ ।

भ्रष्टाचार र अनियमितता नियन्त्रण, सामाजिक सद्भाव कायमलगायत माग अघि सारेर युवा संघले तीनकुने र प्रसाईं संयोजक रहेको अभियानले बल्खुमा बिहीबार सभाको आयोजना गरेका छन् । दुवै पक्षले शान्तिपूर्ण रूपमा सभा आयोजना गर्ने बताइरहेका छन् । तर, एमाले नेता महेश बस्नेत र अभियानका संयोजक प्रसाईंले एकअर्का विरुद्ध उत्तेजक र भड्काउ अभिव्यक्ति दिने क्रम नरोकिएपछि उपत्यकामा चारवटै सुरक्षा निकायका संयन्त्रसहितको विशेष सुरक्षा योजना लागू गरिएको छ । गृह मन्त्रालयका सचिवको संयोजकत्वमा मन्त्रालयमा समन्वय संयन्त्र नै खडा गरिएको छ । वस्तुस्थिति आकलन गरेर सुरक्षा जनशक्ति कुन रूपमा परिचालन गर्ने भन्ने विषय उक्त संयन्त्रमार्फत हुने बताइएको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापा र डीआईजी लालमणि आचार्यको संयोजकत्वमा ‘ज्वाइन्ट अपरेसन कमान्ड सेल’ खडा गरिएको छ । दुवै कार्यक्रममा सुरक्षा जनशक्ति परिचालन सेलमार्फत गराइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले पनि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छुट्टाछुट्टै संयन्त्रमार्फत रणनीति लागू गरेका छन् । करिब १० हजार प्रहरी तैनाथ हुनेछन् । प्रहरी प्रधान कार्यालयले कार्यक्रमकै लागि भनेर विशेष कार्यदल, १ नम्बर गण नक्साल, विपद् व्यवस्थापन गण र प्रहरी प्रधान कार्यालयभित्रको थप जनशक्तिलाई तयारी हालतमा राखेको छ । सशस्त्र प्रहरीले उपत्यकाका तीनवटै गण र सिनामंगलस्थित विपद् व्यवस्थापन गण मातहत सबै जनशक्ति युवा संघ र प्रसाईं नेतृत्वको कार्यक्रममा परिचालन गरेको छ ।

कार्यक्रमका लागि प्रसाईं नेतृत्वको अभियानले केही दिनअघिबाटै विभिन्न जिल्लाबाट सार्वजनिक यातायातमा मानिस काठमाडौं भित्रयाएको र बुधबार रातिसम्म यो क्रम जारी रहेको एक सुरक्षा अधिकारीले बताए । युवा संघले पनि आफ्ना जिल्लास्थित संयन्त्रमार्फत कार्यकर्ताहरूलाई काठमाडौं ल्याएको छ । दुवै पक्षले कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा लिएका छन् र बिहीबारको सभाअघि विभिन्न स्थानबाट र्यालीसहित कार्यक्रम स्थल जाने तय गरेका छन् । त्यसक्रममा मुठभेड र जम्काभेट हुन नदिन सुरक्षा सावधानीका सबै उपाय अपनाइएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले बताए ।
प्रसाईं नेतृत्वको अभियानले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ८ स्थानबाट र्याली निकालेर बल्खु पुग्ने कार्यक्रम सार्वजनिक गरेको छ । सानो ठिमी, गोंगबु, स्वयंभु, कलंकी, जावलाखेल, सातदोबाटो, कीर्तिपुर र चाबहिल चोकबाट एकसाथ र्याली निकालेर बल्खु पुग्ने कार्यक्रम तय छ । युवा संघलाई पनि विभिन्न स्थानबाट तीनकुने जाने गरी सुरक्षा व्यवस्थापन मिलाइएको प्रहरीले जनाएको छ । एआईजी थापाले एकअर्काका र्याली भेट हुन नदिने गरी रुट तय गरिएको र हरेक र्यालीमा सुरक्षा चुनौतीअनुसार जनशक्तिको व्यवस्थापन गरिएको बताए । दुवै समूहले माइतीघर–बानेश्वरमा कार्यक्रम राख्ने बताएका थिए । तर, मुठभेडको जोखिम औंल्याएर सरकारले यो क्षेत्रलाई नै निषेधित घोषणा गरेको थियो ।

एकैदिन दुई पक्षका कार्यक्रम आयोजना हुने भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक कामबेगर आज सवारीसाधन लिएर बाहिर ननिस्कन सार्वजनिक सूचना नै जारी गरेको छ भने १०० र १०३ नम्बरमा सम्पर्क गर्नसमेत अपिल जारी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्