झापा , मंसिर ७ । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी । सनातन धर्मावलम्बीहरुले भगवान् विष्णुको विशेष आराधना र तुलसीको विवाह गरी मनाउँदै छन्।

सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँगै विवाह गरिदिने परम्परा छ।

एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ। यसै दिन नवान्न (नयाँ अन्न) को हवन गर्ने परम्परा छ।
आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ।

विष्णुको अर्को नाम हरि हो। शयन अर्थात् सुत्ने कार्य। बोधको अर्थ हुन्छ उठ्ने। यसैले यी दुई एकादशीको महत्व विशेष छ। यी दुई एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ।

अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ। भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएका छन्। पञ्चांगहरूमा बिहीबार ३४ घडी ४१ पला अर्थात् बेलुकी ८ बजेर २४ मिनेटसम्म एकादशी रहेको उल्लेख छ। हरिबोधिनी

एकादशीको अवसरमा झापाका चार पालिकाले आज स्थानीय बिदा दिएका छन् । । कचनकवल गाउँपालिकाले भने भोलि बिदा दिएको छ ।
आदिवासी राजवंशी तथा अन्य बहुसंख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वको अवसरमा भद्रपुर नगरपालिका,हल्दिवारी, बाह्रदशी र झापा गाउँपालिकाले हरिबोधिनी एकादशीकै दिन स्थानीय बिदा दिएका हुन् । कचनकवलले एकादशी सकिएको भोलिपल्ट भोलि बिदा दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्