उर्लाबारी, मंसिर ७ । उर्लाबारी–७ को आगलागी घटनामा परी घाईते भएका राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी वडा नं. ७ का सभापति कुमार तामाङको पनि मृत्यु भएको छ ।

काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी–७ का ४२ बर्षीय तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पतालको आईसियू कक्षमा उपचाररत तामाङको आज विहान ६ः२५ बजे निधन भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

तामाङको निधनसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि गएराति नै उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको मृत्यु भएको थियो । राति साढे १० बजे दाहालको मृत्यु भएको कीर्तिपुर बर्न अस्पतालले जनाएको छ । त्यसअघि घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा गत मंगलबार बिहान कीर्तिपुर बर्न अस्पतालमै मृत्यु भएको थियो।

गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा अचानक आगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । हाल सो अस्पतालमा २२ जना घाईतेहरु उचाररत रहेको प्रहरीले जनाएको छ । जसमध्ये आईसियू कक्षमा ६ जना उपचाररत रहेको बताईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्