झापा, मंसिर ७ । बिर्तामोड– ३ र ९ स्थित शहीद चन्द्र मार्गका लागि सभामुख देवराज घिमिरेले ल्याएको योजना ताइ न तुईको जस्तो देखिएको छ ।

झापा क्षेत्र नं २ का संघीय सांसदसमेत रहेका घिमिरेले सो सडकको लागि ल्याएको योजना सरकारी मापदण्डविपरित अव्यवहारिक देखिएको हो । गत मंसिर ४ गते सभामुख घिमिरेले सो सडकको शिलान्यास गरेका थिए ।बिर्तामोड नगरपालिकाले नगरभित्रका सबै सडक कम्तीमा ४० फुटको निर्माण गरिनुपर्ने मापदण्ड तोकेको छ । कंचनजंघा हिमालदेखि देशकै सबैभन्दा होचो भूभाग कचनकवललाई जोड्ने योजना रहेको सो क्षेत्रीय सडकका लागि सभामुख घिमिरेले भने ३० फुटे बाटोको योजना ल्याएका हुन् ।हाल सो सडक ३२ फुटको रहेको छ ।

शिलान्यास कार्यक्रममै हल्दिवारी घर भएका झापा क्षेत्र नं ३(२)का प्रदेश सांसद छविलाल चुडालले दक्षिणपट्टी हल्दिवारी क्षेत्रमा ४० फुटे कालोपत्रे सडक निर्माण भइसकेको अबस्थामा त्यसभन्दा उत्तरपट्टी बिर्तामोड क्षेत्रमा ३० फुटको योजना ल्याइनु उचित नभएकोे प्रतिक्रिया दिए । त्यस विषयमा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले पनि कार्यक्रममै ध्यानाकर्षण गराईन् ।अर्कोतर्फ सभामुख घिमिरेले सडक बोर्डको बजेटमा दुई चरणमा ल्याएको योजना पनि फरक–फरक खालको छ । एउटै सडकमा कही प्लम भएको कही प्लम नभएको । सभामुखले शिलान्यास गरेको पहिलो चरणको खण्ड ४५० मिटर लम्बाई र ७ मिटर चौडाई हुने छ । त्यस खण्डको दुवैपट्टी प्लम र प्लमभित्र एक–एक मिटर पैदलमार्ग रहने सडक डिभिजन दमकका डिभिजन इन्जिनियर सुरेश पौडेलले बताए । जुन ठेक्का लागिसकेको छ ।

सडक बोर्डले हल्दिवारीको सिमाना संझना चौकदेखि उत्तरपट्टी प्लमसहित ४५० मिटर सडक खण्ड निर्माण गर्नका लागि एक करोड बजेट छुट्याएको थियो । ठेक्का प्रक्रियामा जनकपुरको एसबीएम कन्स्ट्रक्सनले ४० प्रतिशत कम रेट(६० लाख)मा सो बाटो ठेक्कामा पारेको हो । दोस्रो चरणमा सभामुखकै पहलमा सडक बोर्डबाटै पुनः १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जुन ठेक्का प्रक्रियामा छ । त्यस खण्डमा भने प्लम हुने छैन । प्लमबिनाको करिव ८ सय मिटर सडक खण्डका लागि सो बजेटबाट ठेक्का आव्हान गरिने डिभिजन इन्जिनियर पौडेलले बताए ।

दक्षिणपट्टी हल्दिवारीतर्फ पनि प्लम नभएको र दोस्रो चरणको बजेटबाट ठेक्का लाग्न लागेको खण्डमा समेत प्लम नहुने सडकको बीचको ४५० मिटर खण्डमा मात्र प्लम बनाइनु औचित्यहीन हुने स्थानीय उपभोक्ताहरुको भनाई छ । शिलान्यासकै दिन स्थानीय उपभोक्ताहरुले बीच खण्डमा मात्र प्लम निर्माण नगरी प्लमको बजेटले कालोपत्रेको क्षेत्रफल बढाउन माग गरेका थिए ।त्यसो त स्थानीय उपभोक्ताहरुले जर्जर भइसकेको सो सडकको निर्माण उत्तरतर्फबाट थाल्नु पर्नेमा जोड दिँदै आएका थिए ।तर, निर्माण कार्य दक्षिणतर्फबाट शुरु हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्