झापा, मंसिर ७ । झापाको सुरुङ्गास्थित नेपाल टेलिकमको शाखा कार्यालयका निमित प्रमुख ३१ वर्षीय दिलिप सुवेदी दुई महिनादेखि बेपत्ता छन् । विराटनगर–४ राजवंशी टोल घर भएका सुवेदी गत भदौ ३० गते कार्यालय परिसरबाट नै बेपत्ता भएका हुन् ।


जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले भदौ ३० गते बिहान ९ः३० बजेदेखि हराएका निमित प्रमुख सुवेदीको खोजीका लागि टोली गठन गरेर परिचालन गरेको बताए ।

सुवेदी भदौ ३० गते बिहान आफ्नै कार्यालयका पालेसँग बाहिरबाट चिया खाएर आएपछि कार्यालय भवनको माथिल्लो कोठामा गएको र त्यहाँबाट उनले पत्नी बर्जुना भट्टराईसँग २६ मिनेट लामो कुराकानी गरेको अनुसन्धानबाट खुलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।‘निमित्त प्रमुख सुवेदीले श्रीमतीसँग फोनमा कुराकानी गरेपछि खाना खान कार्यालय नजिककै होटलमा जाने भन्दै फोन काटिएको र त्यसपछि उनको मोबाइल स्विच अफ भएदेखि हालसम्म खुलेको छैन,’ ती प्रहरी अधिकृतले भने, ‘सुवेदीलाई कार्यालयबाट बाहिर निस्केको पनि कसैले देखेका छैनन् । कार्यालय अगाडि लगायतका त्यो बाटोमा बसोबास गर्ने प्रत्येक व्यक्तिसँग सोधपुछ गर्नुका साथै सबैतिर फोटो पठाएर अनुसन्धान गरिरहेको तर हालसम्म कहिंकतैबाट केही खुल्न सकेको छैन ।’

निमित प्रमुख सुवेदीको खोजीका लागि नेपाल टेलिकम केन्द्रीय कार्यालयले पनि विभिन्न सञ्चारमाध्यममा मान्छे हराएको सूचनासमेत प्रकाशन, प्रसारण गराइरहेको छ । सुवेदीले पत्नी बर्जुनासँग दुई वर्ष अगाडि प्रेम विवाह गरेको र हालसम्म सुमधुर सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुवेदीका मामाका छोरा विराटनगरका कृष्ण पौडेलले कार्यालयको निमित्त प्रमुख भएकाले कुनै कसैले रिसिवीमा अपहरण गराएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । तर सुवेदीको खोजी गर्न गठित अनुसन्धान टोलीले टेलिकम सुरुङ्गा शाखाका पालेलाई पोलिग्राफ जाँच समेत गरेर अनुसन्धान गर्दा पनि केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।
कार्यालयका अन्य कर्मचारीहरुलाई समेत छानबिन गर्दा पनि अपहरण भएको विषयमा हालसम्म केही नदेखिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले सुनाए । निमित प्रमुख सुवेदी आफैं कही लुकेको वा जानीजानी केही गरेकाले हालसम्म केही खुल्न नसकेको अनुसन्धानमा खटिएका प्रहरीको आशंका छ ।

प्रहरी उपरीक्षक रेग्मीले अनुसन्धान टोलीले हरेक दृष्टिकोणबाट सुवेदी बेपत्ता घटनाको अनुसन्धान गरिरहेकाले चाँडै घटनाको रहस्य खुल्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्