झापा,मंसिर ८ । दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन तीनकुने आएका उनका समर्थकमाथि प्रहरीले निगरानी बढाएको छ । तीनकुनेमा ४/५ जनाको समूह बन्ने बित्तेकै उनका कार्यकर्तालाई तत्काल नियन्त्रणमा लिने प्रहरीले रणनीति बनाएको छ । प्रशासनले तीनकुने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा नगरेपनि आजको कार्यक्रमका लागी प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाललाई कार्यक्रम गर्न अनुमति प्रदान नगरेको भन्दै प्रहरी सक्रिय भएका हुन् । तीनकुने क्षेत्रमा अहिले पैदल यात्रा गरिरहेका सर्वसाधरण नागरिकमाथि पनि प्रहरीले सोधपुछ जारी राखेको छ । आफ्नो गन्तव्यमा हिँडेका सर्वसाधारणसमेत प्रहरीको निशानामा परेका छन ्। प्रहरीसँग विवाद गर्‍यो कि उसले भ्यानमा हालिहाल्छ । तीनकुनेको पेट्रोल पम्प नजिकै जम्मा भएका १०/१५ जनाको समूहलाई सिंनामगलतर्फ फर्काएको छ भने प्रहरी पनि उनीहरुको पिछा गर्दै गएको छ। तीनकुने क्षेत्रमा रहेका चिया पसलहरुमा समेत प्रहरीले सोधपुछ गरिरहेको छ। कतिपय अवस्थामा प्रहरीले सुरक्षाका नाममा सर्वसाधरणलाई त्रसित बनाएको छ।शुक्रबार बिहान प्रसाईं समूहका समर्थकलाई प्रहरीले तीनकुनेमा धरपकड गरेको थियो। प्रत्यक्षदर्शीका अनुसार पूर्वनिर्धारित कार्यक्रमअनुसार सहभागी हुन आएका ८/९ जनालाई तीनकुनेबाट प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो।अहिले तीनकुने क्षेत्रमा प्रहरीले सर्च अभियानसमेत सञ्चालन गरेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्