झापा, मंसिर ८ । नमुना विद्यालयको रूपमा छनौट भएको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगञ्जको जनआदर्श माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन् ।

संघीय सरकारको नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार निर्माण र शैक्षिक सुधारका कार्यक्रम संचालन भइरहेको हो । नमुना विद्यालय विकास कार्यक्रमका लागि संघीय सरकारले बजेटको व्यवस्थापन गरेको छ । शुक्रबार १ करोडको लागतमा चार कोठा भएको एक तले भवनका लागि शिलान्यास भएको विद्यालयका लेखापाल दिनेश श्रेष्ठले बताए । उनका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीले भवनको शिलान्यास गरेका हुन् । शिलान्यास भएको भवन चालु वर्षको असार मसान्तसम्ममा निर्माण सम्पन्न हुने उनले जानकारी दिए ।

यसअघि पनि एउटा भवन निर्माणाधिन अवस्थामा छ । सोही प्रकृतिको अर्को भवनको शिलान्यास भएको विद्यालय प्रशासनले जनाएको छ । भवन शिलान्यास गर्दै वडा अध्यक्ष खुलालले जनआदर्श माविलाई शिक्षाको गुणस्तर र भौतिक पूर्वाधारमा समेत देशकै नमुना बनाउन पहल भइरहेको बताए । ‘यो विद्यालयलाई नमुनाको रूपमा छनौट गर्न यस वडाका बासिन्दा र यहाँका जनप्रतिनिधिले निकै कसरत गर्नुपरेको थियो,’ उनले भने, ‘दुःख गरेर यहाँ ल्याएको नमुना विद्यालय कार्यक्रम देशकै उदाहरण बनाउन सबै मिलेर लागियो भने असम्भव छैन ।’ ‘यो भवन तीन तलाको हुने छ । क्रमागत रुपमा संघीय सरकारबाट आउने बजेटले ९ कोठाको अत्याधुनिक भवन निर्माण हुन्छ,’ वडा अध्यक्ष खुलालले भने । विद्यालयको शैक्षिक विकासको गुरुयोजना निर्माणको चरणमा छ । लेखापाल श्रेष्ठका अनुसार नमुना कार्यक्रमले विद्यालयको समग्र शैक्षिक विकासमा सघाउँछ । ‘नमुना विद्यालय विकास कार्यक्रमले विद्यालयका शैक्षिक, भौतिक, व्यवस्थापनलगायत सबै क्षेत्रको समग्र विकास हुन्छ ’उनले भने ।

नगर कार्यपालिकाको यो कार्यक्रममा नेतृत्वदायी भूमिका रहेको विद्यालय प्रशासनले जनाएको छ । नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत दुईवटा कार्यक्रम संचालन हुने गरेको छ । एउटा भौतिक पूर्वाधार निर्माण र अर्को शैक्षिक सुधार कार्यक्रम । शैक्षिक कार्यक्रमअन्तर्गत शैक्षिक सामग्री खरिद, थप कक्षा सञ्चालन, शिक्षक नियुक्तिलगायत रहनेछन् । ५ सय हाराहारी विद्यार्थी रहेको सो विद्यालयमा आदिवासी जनजाति र विपन्न समुदायका छोराछोरीहरु अध्ययनरत रहेका छन् । दुई वर्षदेखि सो विद्यालयमा नेपाली र अंग्रेजी दुई भाषामा अध्ययन अध्यापन हुने गरेको छ ।

विद्यालयको भवन निर्माणले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन तिम्सिनाले बताए । ‘विद्यालयको भौतिक पूर्वाधार राम्रो भएपछि शिक्षाको गुणस्तरमा सहयोग पुग्छ,’ अध्यक्ष तिम्सिनाले भने, ‘नमुना कार्यक्रमले शैक्षिक गतिविधिमा पनि टेवा पु¥याउने आशा छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्