मेचीनगर, मंसिर ८ । धेरै समय बेपत्ता भएर तीन महिनाअघि मलेसियामा भेटिएका काँकरभिट्टाका गोपाल घिमिरे शुक्रवार नेपाल आइपुगेका छन् ।

शुक्रवार साँझ झापाबाट विराटनगर हुँदै काठमाडौँ पुगेका नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनीेले गोपाललाई भेटेका छन् । गोपाल शनिबार घर आइपुग्नेछन् ।

उनलाई मलेसियादेखि नेपालसम्म ल्याउन पहल गरिदिने सांसद शर्मा हुन् । सांसद शर्माले करिव ७० हजार नगद सहयोग गरेका थिए । गैरकानूनी रुपमा काम गरिरहेका घिमिरेको सबै डकुमेन्ट मिलाउने काम पनि शर्मामार्फत नेपाली जनसम्पर्क समिति मलेसियाले गरेको थियो ।

जनसम्पर्क समितिका अध्यक्ष चोलाकान्त पंगेनीका अनुसार गोपालको टिकट र जरिवाना गरेर नेपाली एक लाख ४ हजार १६० रुपैयाँ लागेको छ । गोपालले ३३ हजार ६ सय भुक्तानी गरेका थिए भने बाँकी ७० हजार ५६० रुपैयाँ शर्मामार्फत जनसम्पर्क समितिले उपलब्ध गराएको पंगेनीले जानकारी दिए ।

६ वर्षदेखि सम्पर्कविहीन काँकरभिट्टाकी सानी ढकाल घिमिरेका छोरा गोपाल गत भदौमा मलेसियामा काम गरिरहेको पत्ता लागेको थियो ।

३७ वर्षीय गोपालले मलेसियाको पोट क्लक भन्ने ठाउँको एनगेम एसडीमन कम्पनीमा गैरकानूनी रुपमा काम गरिरहेका थिए । उनी मलेसिया गएको १६ वर्ष भएको थियो । परिवारको सम्पर्कमा रहेका घिमिरे ६ वर्षदेखि भने एकाएक सम्पर्कविहीन भएका थिए ।

छोरा एकाएक वेपत्ता भएपछि उनकी आमा सानी घिमिरे छोरा खोजिदिन भन्दै विभिन्न संघ–संस्था , व्यक्तिहरुको घर र कार्यालयमा भौतारिरहेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्