झापा, मंसिर ९ । देशमा गणतन्त्रको विरुद्धमा आवाज उठ्न थालेको मौकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलाएर झापामा राजतन्त्रको पक्षमा शक्ति देखाएको छ ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजतन्त्रको पक्षमा राजधानीमा आन्दोलन गरिरहँदा राप्रपाले झापामा हजारौलाई भेला गराएर प्रसाईको आन्दोलनलाई मात दिएको हो । बिर्तामोडको इकोम कलेजमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रमको मौकामा राप्रपाले विगत ६ महिनादेखि नै शक्ति प्रदर्शनको तयारी थालेको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पन्ध्र दिनदेखि आफै त्यस कार्यक्रमको तयारीमा जुटेका थिए ।

शाहले बिर्तामोड–१ स्थित इकम कलेजले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक राजषी शैलीमा अनावरण गरेका हुन् ।
शाहले सालिक अनावरणसँगै ८ बर्षदेखि सञ्चालित उक्त कलेजको उद्घाटनसमेत गरेका थिए । कार्यक्रममा सहभागी हुन शाह शुक्रबार नै मेचीनगरमा रहेको होटल मेची क्राउनमा आएर बसेका थिए । मेची क्राउन होटलबाट राजावादी दलका कार्यकर्ताले स्कर्टिङ गरेर शाहलाई कार्यक्रम स्थलसम्म ल्याएका थिए । हजारौं मोटरसाइकलमा आएका राजावादी दलका कार्यकर्ताले पूर्व राजा शाह र राजतन्त्रको पक्षमा नारासमेत लगाएका थिए । शाहलाई हेर्न प्रदेशभरबाट हजारौं सर्वसाधारणको भीड लागेको थियो । हजारौं समर्थकका बीच कलेज परिसर आएका पूर्व राजा शाहको समर्थनमा ‘राजा आऊ देश बचाऊ’, ‘गणतन्त्र चाँहिदैन’ ‘गणतन्त्र मुर्दावाद’ ‘हाम्रा राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नारा घन्किएको थियो ।

बिर्तामोड पश्चिम भाटभटेनी परिसरबाट झण्डै एक किलोमिटर पश्चिम उत्तरमा रहेको कलेज परिसरसम्म पूर्व राजाले हिँडेर सर्वसाधारणसंग भेट गरेका थिए । त्यसक्रममा हजारौ समर्थकले पूर्वराजा ज्ञानेन्द्रलाई पुष्पगुच्छा दिएका थिए ।
भीडका कारण कार्यक्रम स्थलसम्म शाहलाई लैजान सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो । कार्यक्रम स्थलसम्मको लाइनमा ठेलमठेल हुँदा सहभागीहरुले दिग्दारी महसुस गरेका थिए । नेपाल प्रहरीका डिएसपी र सशस्त्र प्रहरीका इन्स्पेक्टरको टोलीले कार्यक्रममा सुरक्षा दिएका थिए ।

कलेज प्राङ्गणमा गरिएको कार्यक्रममा सहभागीलाई भने गेट बाहिरै राखिएको थियो । कलेज उद्घाटन,सालिक अनावरणपछि शाहले कलेजले आयोजना गरेको सांस्कृतिक कार्यक्रम अवलोकन गरेका थिए । कार्यक्रममा आयोजकले नेपाली राष्ट्रगान भन्दै स्वदेश गीत बजाएको थियो । ‘रातो र चन्द्र सूर्य’ बोलको स्वदेश गान कलेजकी छात्रा प्रेरणा ओलीले गाएकी थिइन् ।
कलेजका शिक्षकसमेत रहेका कार्यक्रमका उद्घोषक बालकृष्ण दाहालले सम्बोधनभरि राजषी भाषा र शैली प्रयोग गरेका थिए । पूर्वराजा शाहलाई दाहालसहितका वक्ताहरुले पटक–पटक ‘श्री ५ को सरकार, महाराजधिराज’ लगायतका बिशेषण प्रयोग गरेका थिए । कार्यक्रममा कलेजका अध्यक्ष आलोक कार्की , सञ्चालक निर्मल निरौलाले बोलेका थिए ।
कार्यक्रममा शाह, राप्रपाका अध्यक्ष लिङ्देनलगायत राजावादी दलका नेता कार्यकर्ता सहभागी भएपनि उनीहरुले सम्बोधन भने गरेनन् ।

बीएण्डसीका प्रसाईंले राजधानीमा राजावादी आन्दोलन गरिरहँदा शाह झापा आएका हुन् । प्रसाईको कार्यक्रमलाई उनले खासै महत्व नदिएको बताइएको छ । कार्यक्रमपश्चात् पूर्वराजा शाह होटल मेची क्राउन नै फर्किएका छन् । उनी भोलि साँझ काठमाण्डौ फर्कने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्