मेचीनगर, मंसिर ९ । मलेसियामा बेपत्ता भएर घर फर्किएका काँकरभिट्टाका गोपाल घिमिरेको १६ वर्षपछि आमासँग भेट भएको छ । उनी मलेसियामा ६ वर्षदेखि सम्पर्कविहीन भएका थिए ।


गोपाल आज दिउँसो साढे २ बजे काठमाडौँबाट सौर्य एयरलायन्सको जहाजमा मेचीनगर–६ स्थित काँकरभिट्टा घर आइपुगे । उनकी आमा सानी घिमिरेले छोरालाई देख्नासाथ अंगालो हालेर खुशीले आँशु झारिन् । छोरासँग भेट भएपछि आँशु पुछ्दै सानी घिमिरेले भनिन्–‘छोरा मलेसिया गएको १६ वर्ष भएको थियो । ६ वर्षदेखि सम्पर्कविहीन छोरालाई खोजी गरिदिने र घरसम्म सकुशल ल्याइदिने तपाईहरु सबैलाई धेरैधेरै धन्यवाद छ ।’

शुक्रबार मलेसियाबाट काठमाडौँ आइपुगेका घिमिरेलाई नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का सांसद विश्वप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनीेले भेटेका थिए ।

सांसद शर्माले गोपाल काठमाडौँबाट सौर्य एयरलायन्सको जहाजमा झापा आउँदा निःशुल्क टिकटमा आएको बताए । सौर्य एयरलायन्सका अध्यक्ष दिपक पोखरेलले गोपालको टिकट निःशुल्क गरिदिएको उनले बताए ।गोपाल मलेसियामा ६ वर्षदेखि बेपत्ता भएपछि उनकी आमाले विभिन्न व्यक्ति, संघ–संस्था र संचारमाध्यमलाई गुहारेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्