झापा, मंसिर १० । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ ।

ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन् ।
सात–आठ जनाको समूहमा रहेकाहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए । आक्रमणकारीले हानेको ढुंगा भट्टराई सवार गाडीको अगाडिको भागमा लागेको प्रत्यक्षदर्शीले बताएका छन् । भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो । सिसाहरु छरपस्ट भए पनि मान्छे भने कोही घाइते नभएको एमालेले जनाएको छ ।

यसअघि मध्याह्न एमाले र पहिचान पक्षधर कार्यकर्ताबीच झडप भएको थियो । उनीहरुले भट्टराईको निवास अगाडि प्रदर्शनसमेत गरेका थिए ।

दशैं, तिहार, छठ, नेपाल सम्वत् जस्ता चाडपर्वको अवसरमा भट्टराईसहित एमालेबाट निर्वाचित सांसदहरु उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले चियापान कार्यक्रम आयोजना गरेका थिए । दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा भएको चियापान सकेर फर्कने क्रममा आक्रमण भएको खतिवडाले बताएका छन् ।

पहिचान पक्षधरले एमाले कार्यालय अगाडिपनि प्रदर्शन गरेका थिए । उनीहरुले गत असार १ गते विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ ।

यसअघि एमालेकै प्रदेश सांसद मेन्याङ्बो, माओवादीका इन्द्र आङ्बोलगायतका नेतामाथि त्यही क्षेत्रमा आक्रमण भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्