बिर्तामोड,मंसिर ११ । ‘श्री ५’ लेखिएको शिलालेख राखेर पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न लगाएको बिर्तामोड १ स्थित इकम कलेजमाथि कार्वाही हुने भएको छ ।

सो कलेजको दर्ता खारेजीको लागि प्रक्रिया अगाडि बढाइने भएको हो । कलेजले बहालवाला राजा सरह पूर्वराजा ज्ञानेन्द्र शाहबाट सालिक अनावरण गर्न लगाउँदै देशमा राजतन्त्र भएजसरी ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहको करकलमबाट बिर्तामोड नगरपालिका वडा नं १ झापामा रहेको इकम कलेजको प्रांगणमा स्थापित राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण एवं कलेजको विधिवत समुद्घाटन कार्य सुसम्पन्न भयो । इति सम्वत् २०८० साल ०८ महिना ०९ गते रोज शुभम् ’लेखिएको शिलालेख राखेको थियो ।

इकम कलेजले संबिधानको ठाडो उल्लंघन गरेकाले दर्ता खारेजीको प्रक्रिया अगाडि बढाइने बिर्तामोड १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेले बताए । उनले आज इकम कलेजसंग पत्र पठाएर स्पष्टीकरण सोधिने र दर्ता खारेजीका लागि बिर्तामोड नगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरिने जानकारी दिए । चौतर्फी विरोधपछि इकम कलेजको प्रांगणबाट ‘श्री ५’ लेखिएको शिलालेख हिजो हटाइएको थियो । कलेजका संचालकहरुले आफूहरुबाट त्रुटि भएको स्वीकार गरिसकेका छन् । सालिक अनावरण गर्नेक्रममा राखिएको शिलालेखको भाषामा त्रुटि भएको महसुस भएपछि त्यसलाई हिजैै हटाइएको कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्की बताए । उनले दुई–तीन दिनपछि निर्माण हुने अर्को शिलालेखमा ‘श्री ५’ को सट्टा पूर्व राजा भनेर लेखिने जानकारी दिए ।

यसअघि शिलालेखमा ‘श्री ५’ लेखेपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पनि स्पष्टीकरण सोधेका थिए । त्यसपछि कलेज प्रशासनले शिलालेख हटाएको हो । पूर्वराजा शाहले सालिक अनावरणसँगै सोही दिन विधिवत उद्घाटन गरेको इकम कलेज विगत ८ बर्षदेखि संचालित छ । इकम कलेजले होटल म्यानेजमेन्ट, बिज्ञान र व्यवस्थापन संकायको कक्षा संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्