झापा, मंसिर १२ । दुई दिनअघि नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको गाडी तोडफोड गर्दा पक्राउ परेकाहरुको रिहाईका लागि दबाब दिन पहिचानवादीहरुले मेची राजमार्गमा चक्काजाम गरेका छन् ।

पहिचानवादीहरुले झापाको चारआलीमा इलामतर्फ जाने सवारीसाधनमा अवरोध गरेका हुन् । केही पहिचानवादीहरुले इलामतर्फ जान लागेका सवारीसाधनलाई अवरोध गर्न खोजेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

आफूहरुले लोकल गाडीहरुलाई चल्न दिएको तर इलाम, ताप्लेजुङतर्फ जाने सवारीसाधनका चालकलाई नजान संझाइ बुझाई गरेको प्रदेश नम्बर १ पुनः नामांकन संघर्ष समितिका संयोजक पाण्डवलाल चौधरीले बताए । पहाडी क्षेत्रमा पनि पहिचानवादीहरुले आज यातायात अवरुद्ध पारेको जनाइएको छ ।बन्दका कारण मेची राजमार्गको फिदिम ताप्लेजुङ–फिदिम र फिदिम–इलाम सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् । पहिचान पक्षधरहरूले ठाउँ–ठाउँमा उभिएर छिटफुट चलेका साधन पनि रोकिरहेका छन् ।

आइतवार ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै पहिचान पक्षधरले भट्टराईको गाडीमाथि आक्रमण गरेका थिए ।

सात–आठ जनाको समूहमा रहेकाहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेका थिए । त्यसक्रममा विपिन कङ्लिवा लिम्बू र आनन्द कङ्लिवा पक्राउ परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्