झापा,मंसिर १२ । इजरायल र हमासबीच अस्थायी युद्धविराम थप २ दिन लम्ब्याउने सहमति भएको छ । इजरायल र हमासबीचको संवादका लागि मध्यस्थता गरिरहेको कतारले दुई पक्ष थप दुई दिन युद्धविराम लम्ब्याउन सहमत भएको जानकारी दिएको हो । कतारी विदेशमन्त्री डा. मजिद बिन मोहम्मद अल अन्सारीले सहमति भएसँगै इजरायलले थप ३३ जना र हमासले ११ जना बन्दी छाडेको पनि जानकारी दिएका छन् । हमासले छाडेका ११ जनामा तीन फ्रान्सेली, दुई जर्मन र ६ अर्जेन्टिनी नागरिक रहेका छन् । अहिलेसम्म हमासले ६९ जना बन्धक छाडेको छ । त्यस्तै इजरायलले १५० जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरी विभिन्न देशका गरी करिब २५० जनालाई बन्धक बनाएको थियो । त्यसमध्ये नेपालका विपिन जोशी पनि रहेका छन् । उनी भने अझै हमासको कब्जामा रहेका छन् । इजरायलले हमासले रिहा गर्ने हरेक १० बन्धकका लागि एक दिन युद्धविराम लम्ब्याउने यसअघि नै बताइसकेको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १ हजार २ सयभन्दा बढी इजरायलीको मृत्यु भएको छ । त्यसयता इजरायलले अस्थायी युद्धविराम हुनुअघिसम्म गाजा क्षेत्रमा भीषण आक्रमण गर्दै आएको थियो । इजरायली आक्रमणमा बालबालिकासहित १४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । गत शुक्रबारदेखि इजरायल र हमासबीच अस्थायी युद्धविराम भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्