दमक, मंसिर १३ । नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले यस बर्ष तिहारको देउसीभैलोमा संकलित रकममध्येबाट एक जना बिरामी पत्रकारलाई नगद ११ हजार रुपैयाँ सहयोग गरेको छ ।


समितिले हाल इटहरी निवासी नेपाल पत्रकार महासंघका कोशी प्रदेश समिति सदस्य पत्रकार पीवी दियालीको उपचारमा सहयोगका लागि सो रकम प्रदान गरेको हो ।

दुवै मिर्गौला खराब भई उपचाररत समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्यसमेत रहेका पत्रकार दियालीको लागि समाजवादी प्रेस संगठन झापाका अध्यक्ष अनिलदेव राईमार्फत सो रकम प्रदान गरिएको प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिका उपाध्यक्ष नगेन्द्रमणी न्यौपानेले जानकारी दिए । क्षेत्रीय समितिका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता र नेपाली कांग्रेसकी केन्द्रीय महेन्द्रकुमारी लिम्बूको उपस्थितिमा बुधबार दमकमा आयोजित संक्षिप्त कार्यक्रममा पत्रकार दियालीको शिघ्र स्वास्थ्य लाभको कामनासहित सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा पत्रकार महासंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछाने, प्रदेश सदस्य विष्णु सुब्बा, प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराईलगायतले प्रेस युनियनको सो कार्यको प्रशंसा गर्दै पत्रकार दियालीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

नेविसंघ कमलको देउसीभैलीको रकम ४३ हजार
नेपाल विद्यार्थी संघ कमल गाउँसमितिले तिहारमा खेलेको देउसीभैलीको आयव्यय सार्वजनिक गरेको छ । संघले सार्वजनिक गरेको विवरणअनुसार देउसीभैलीमार्फत ४३ हजार १ सय ५५ रुपैया संकलन गरिएको संघका अनिल सम्बाहाम्फेले बताए । संघले देउसीभैलीमा १५ हजार खर्च भएको र त्यसमध्ये २८ हजार एक सय ५५ रुपैयाँ बचत भएको उल्लेख छ ।
संघले आर्थिक कोष स्थापना गर्ने उद्देश्यले तिहारमा देउसीभैली आयोजना गरेको जिल्ला सचिव जितेन राईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्