
झापा,मंसिर १३ । भूकम्पपीडितले भत्किएका घर पुनर्निर्माणको माग गरेका छन् । भूकम्पका कारण घर भत्किएपछि घरवासविहीन नागरिकले पुनर्निर्माणको काम छिटोछरितो गर्न माग गरेका हुन् । पीडितहरूले त्रिपालमुनिको चिसोबाट बचाउन पुनर्निर्माणलाई तत्काल अघि बढाउन आग्रह गरेका छन् । रूकुम पश्चिम आठबिसकोट नगरपालिका–१४ मा नेपाल ग्रामीण पुनर्निर्माण संस्था, (आरआरएन) ले भूकम्प प्रभावितलाई राहत सामग्री वितरणका क्रममा पीडितले सो बताएका हुन् । त्रिपालले जाडो नछेक्ने तथा खुला आकाशमुनि खाना पकाउने गरेका पीडितले अस्थायी टहरा निर्माणको प्याकेज ल्याएर आउन आग्रह गरेका छन् । त्रिपालमुनिको चिसो छल्ने न्यानो कपडा नपाएर जीवन बिताउन बाध्य पीडितले चार हप्ता बित्दा पनि अस्थायी टहरा पाउन नसकेको गुनासो गरेका छन् । भूकम्प प्रभावित क्षेत्रका नागरिकका लागि सरकारले अस्थायी टहरा निर्माण गर्ने प्रतिबद्धता गरेको सरकारले सो पूरा गर्न नसकेपछि उनीहरू समस्यामा परेका छन् ।



