झापा, मंसिर १४ ।झापामा दिनहुँ आगलागी हुनेक्रममा मेचीनगर र कचनकवलमा आगलागी भएको छ ।

बिहीवार दिउँसो १ः४० बजेको समयमा मेचीनगर ८ स्थित सेनेटरी टोल बस्ने ५५ वर्षीय कुन्दनमणि धमलाको घर छेउमा रहेको खेतमा धानको भुस जलाउने क्रममा एक्कासी भुसको झिल्का उडी घर छेउमा रहेको सिमेन्टको पिलर, टिन र काठले बनेको दुईतले गाईगोठमा आगलागी भएको हो । आगलागीबाट गाईगोठमाथि राखिएको पराल र गाईगोठ पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी ३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त आगलागी अस्थायी प्रहरी पोस्ट ईटाभट्टाबाट गएको प्रहरी टोली, मेचीनगर नगरपालिकाको २ वटा, बिर्तामोड नगरपालिकाको एउटा दमकल र स्थानीय मानिसहरुको सहयोगमा दिउँसो सवा ३ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै कचनकवल गाउँपालिका–५ डाँगावारीस्थित सुकुम्वासी बस्तीमा आगलागी भएको छ । स्थानीय जमिल मिया र इम्तियाज मियाको घरमा आगलागी भएको हो ।

भान्साबाट अचानक सल्किएको आगोले अन्दाजी ९ लाख मूल्य बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । बुधवार बिहान ११.२० बजे भएको आगलागीबाट चार कोठे भुईँघरमा क्षति पुग्नुका साथै दुई तोला सुन, ४० तोला चाँदी, लत्ताकपडा, नगद २० हजार तथा घरका फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगलागी भद्रपुर नगरपालिकाको दमकल , ईलाका प्रहरी कार्यालय बनियानी, प्रहरी चौकी पाठामारी , ईलाका प्रहरी कार्यालय पृथ्वीनगरको टोली,स्थानीयबासी र बिओपी पाठामारीको सहयोगमा नियन्त्रणमा आएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्