झापा, मंसिर १५ । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले विराटनगर ल्याएको छ ।


सहकारी सञ्चालनका नाममा बचतकर्ताको रकम ठगी गरेर फरार बनेका शर्मालाई प्रहरीले बिहीबार राति विराटनगर ल्याएर शुक्रबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको हो । प्रहरीले उपस्थित गराएसँगै सहकारी ठगी मुद्दाका प्रतिवादी उनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अदालतका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार न्यायाधीश राजेश्वर अर्यालको इजलासले सहकारीका अध्यक्ष शर्मालाई थुनामा राख्न आदेश दिएको हो । आदेशपछि मोरङ कारागार चलान गरिएका उनलाई सहकारीको रकम हिनामिना गरेको अर्को मुद्दामा कैलाली जिल्ला अदालत धनगढी लैजाने तयारी भइरहेको छ । कैलालीपछि उनलाई दाङ लगिने छ । प्रहरीका अनुसार कैलाली, दाङलगायत १९ वटा जिल्लामा शर्माविरुद्ध मुद्दा परेको छ ।

बचतकर्ताको रकम अपचलन गरेको विराटनगरको तुलसी सहकारी भने २०७९ फागुन १ गतेदेखि बन्द छ । विराटनगरमा सहकारीको प्रधान कार्यालय थियो । मोरङ अदालतले सोही सहकारी ठगी मुद्दाका अन्य प्रतिवादीहरु तुलसी सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रवन्धक मन्दीप खवासलाई २०७९ चैत २४ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सचिव न्यौपाने सहकारीका अध्यक्ष शर्माकी पूर्वपत्नी हुन् । सहकारीमा संकट आएपछि उनीहरुबीच सम्बन्ध विच्छेद भएको पाइएको छ । २०५२ सालमा दर्ता भएको सहकारी सञ्चालनको जिम्मा शर्माले २०७२ सालदेखि लिएका थिए । विराटनगरमा मुख्य कार्यालय रहेको सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा शाखा कार्यालय छ ।

मुख्य कार्यालय विराटनगरसहित तीनवटै शाखा कार्यालयमा गरेर सहकारीका २१ हजार १ सय ५४ बचतकर्ता थिए । सर्वसाधारणले जम्मा गरेको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ अपचलन गरेर शर्मा फरार भएका थिए । उनलाई प्रहरीले गत असारमा भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । सहकारी संस्थामा सर्वसाधारणले बचत गरेको रकम अध्यक्ष शर्माले अनधिकृत हिसाबले आफ्नो कम्पनीमा ऋण प्रवाह गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सहकारीले ४१ करोड ६३ लाख ९५ हजार ३ सय ७८ रुपैयाँ अध्यक्ष शर्माको ६ वटा कम्पनीलाई ऋण प्रवाह गरेको देखिन्छ । सहकारीको कूल पुँजी एक अर्ब ६५ करोड ६५ लाख ९३ हजार २ सय ९१ रुपैयाँ छ । जसमध्ये एक अर्ब ४८ करोड ६८ लाख ५० हजार ७ सय ५१ रुपैयाँ ऋण लगानी गरेको देखाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्