झापा, मंसिर १६ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्नो ३१औं वार्षिक साधारणसभाअन्तर्गत माइन्युट प्रमाणित सभा शनिवार बिर्तामोडमा सम्पन्न गरेको छ ।

गत मंसिर २ गतेदेखि सातवटा इकाईमा इकाइगत साधारण सभा सञ्चालन भई मंसिर ८ गते पूरा भएको थियो । संस्थाका ५८ वटै कार्यालयस्तरमा भएका उपइकाइगत साधारण सभाबाट छानिएर आएका प्रतिनिधिसहितको सहभागितामा माइन्युट प्रमाणित सभा सम्पन्न भएको हो ।

माइन्युट प्रमाणित सभामा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदनका मूलभूत विषयहरुमाथि चर्चा गरेका थिए । यसैगरी लेखा सुपरीवेक्षण समितिका संयोजक रचना दाहालले गत आर्थिक वर्षमा संस्थाको सञ्चालक समिति बैठकले गरेका निर्णयहरु कार्यान्वयनको अवस्था, वित्तीय कारोबारहरु गर्नका लागि निर्माण गरिएका नीतिगत व्यवस्थाको परिपालना जस्ता विषयहरु समेटिएको प्रतिवेदनलाई सारांशमा प्रस्तुत गरिन् ।

सो अवसरमा एनएमसीले संस्थामा २५ वर्षभन्दा बढी समयदेखि कार्यरत दुईजना कर्मचारीहरुलाई १० ग्राम सुनको सिक्कासहित र १० वर्षभन्दा लामो अवधि काम गर्ने ४६ जनालाई ५० ग्राम चाँदीको सिक्कासहित दीर्घसेवा पदकबाट सम्मानित गरेको छ ।

संस्थाका अधिकृत कर्मचारी पारसचन्द्र भट्टराई र वरिष्ठ सहायक प्रथम दुर्गा बराल २५ वर्षभन्दा लामो अवधि लगातार काम गरेर दीर्घसेवा पदकबाट विभूषित भएका हुन् ।

यसैगरी आर्थिक वर्ष २०७९–०८० मा घोषित विभिन्न विधाका उत्कृष्ट चार जना कर्मचारीहरुलाई पनि सोही अवसरमा पुरस्कार प्रदान गरिएको थियो ।

संस्थाले वर्ष उत्कृष्ट कार्यालय प्रमुखको पुरस्कार बिर्तामोडका तत्कालीन प्रमुख हरिमाया ओझालाई प्रदान गरेको छ ।
यस्तै, वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार प्रधान कार्यालयका वरिष्ठ सहायक तेस्रो सदिक्षा अधिकारी, वर्ष उत्कृष्ट सदस्य सहजकर्ता बिर्तामोडका रुकमणि शर्मा नेपाल र व्यवसाय वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार कार्यालय सहायक छैटौं महेन्द्रबहादुर बानियाँलाई प्रदान गरिएको छ ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोशी प्रदेश उद्योग , कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखनाथ दाहाल , कोशी प्रदेशका निमित्त रजिष्टार हरिबहादुर खत्री , जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्कालगायतले मन्तव्य राखेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष भगवती घिमिरे मैनालीले शाब्दिक स्वागत गरेकी थिइन् । अन्तिम माइन्युट प्रमाणित सभामा संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले विशेष मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्